सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख अधिकारीद्धारा अक्षयकोष स्थापना

रुपन्देही खबर , २३६  पटक हेरिएको

भैरहवा, जेठ ५

रुपन्देहीको सिद्धार्थनगर ८ भैरहवामा अवस्थित श्री रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले गरिब तथा जेहेन्दार छात्राहरुका लागि १ लाख रुपैया बराबरको अक्षयकोष स्थापना गर्नु भएको हो ।

उहाले विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुको पठनपाठनमा सहयोग स्वरुप बुबा दानबहादुर अधिकारी र आमा सुमित्रा अधिकारीको नाममा एक लाख रुपैया बराबरको छात्रवृत्ति कोष स्थापना गरेको जानकारी दिनु भएको छ । उहाले गरिब तथा जेहेन्दार छात्राहरुमा सानो भए पनि छात्रवृत्ति सहयोगले पढाइमा हौसला बढोस भन्ने उदेश्यले अक्षयकोष स्थापना गरेको जानकारी दिनु भएको छ ।
उक्त रकमको चेक उपप्रमुख अधिकारीले विद्यालयका प्रधानाध्यापक रुपकुमार रायमाझीलाई प्रदान गर्नु भएको छ ।
व्यक्तिगत रूपमा कोषका लागि रकम दिनु भएको उपप्रमुख अधिकारीले समग्र शिक्षाको विकासका लागि सिद्धार्थनगर नगरपालिकाको ध्यान रहेको बताउँदै नगरपालिकाको तर्फबाट हुन सक्ने सहयोग र सहकार्यका लागि सधै प्रतिबद्ध रहने बताउनु भएको छ । उहाले बिद्यालयको पूर्वाधारको क्षेत्रमा केही कमि नहुने बताउँदै शिक्षाको गुणस्तरका लागि शिक्षकहरु इमान्दारीपूर्वक खटिनु पर्नेमा जोड दिनु भएको छ ।

उपप्रमुख अधिकारीले आफु निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रमा सुधार ल्याउनकै लागि पहल गरिरहेको बताउनु भएको छ । उहाले सिद्धार्थनगरको पूर्वाधार बिकास, दक्षता अभिवृद्धि तथा शैक्षिक विकासमा बजेट विनियोजित गरिएको जानकारी दिदै नगरपालिकाको शैक्षिक सुधारका निम्ति थालेको पहलमा पनि सकारात्मक सहयोगको अपेक्षा रहेको बताउनु भएको छ ।

विद्यालयका प्रधानाध्यापक रुपकुमार रायमाझीले चेक लिदै सो रकम छात्रवृत्ति कोषमा जम्मा गरी कोषबाट प्राप्त हुने व्याजले गरिब तथा जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिनु भएको छ । विद्यालयमा अक्षयकोष स्थापना गर्नु निकै राम्रो काम हो भन्दै उहाले यो कार्यले अति विपन्न विद्यार्थीहरुलाई विद्यालय सम्म ल्याउन उत्साह दिने बताउनु भयो । रकमको सही सदुपयोग हुने गरी हरेक वर्ष कार्यविधिअनुसार गरिब तथा अतिविपन्न करिब ८ जना छात्राले छात्रवृत्ति पाउने रायमाझीले बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०५-१८ , समय : १०:०७:२४ , १ महिना अगाडि