तिलोत्तमा ८ सूर्यपुरामा जारी महायज्ञमा पैँतीस लाख भन्दा बढी रकम संकलन

रुपन्देही खबर , २५  पटक हेरिएको

मणिग्राम, फागुन २९

तिलोत्तमा ८ सूर्यपुरा, रूपन्देहीमा सञ्चालित महायज्ञ अत्यन्त उत्कृष्ट बनिसकेको आयोजकले बताएका छन् । महायज्ञ सकिन २ दिन बाँकी रहँदा हालसम्म दशौं हजार भक्तजनले दर्शन गरिसकेका छन् भने दैनिक हजारौंको संख्यामा सहभागी भैरहेको मूल आयोजक समितिका सह सचिव रेशम पाण्डेले बताउनुभयो । यसैगरी, महायज्ञमा हालसम्म पैँतीस लाख रूपियाँ भन्दा माथि नगद मात्रै संकलन भएको आर्थिक समितिका संयोजक हिरालाल खनालले जानकारी दिनुभयो । जिन्सी सामाग्री दान र पर्वतको आकार बनिसकेको चामलको भने महायज्ञ समापन पछि हिसाब हुने आयोजकले बताएका छन् ।
महायज्ञ अन्तर्गत २९ गते बिहीबार  पूर्णिमाका दिन चौरासी पूजाका र लाख बत्ती बाल्ने कार्यक्रम भएको हुँदा अझ धेरै भक्तजनको उपस्थिति रहने भन्दै आयोजकले थप विशेष तयारी गरेका छन् । हरेक दिन विहानको सत्रमा योगाभ्यास, दिउँसोमा देव लीलामय सांगितिक कथा प्रवचन र साँझको श्रृंगारिक महाआरती समेत समाविष्ट भएकोले महायज्ञमा विशेष आकर्षण थपिएको छ । महायज्ञका प्रमुखवाचक आचार्य चैतन्य कृष्ण प्रभुले पृथ्वीका समग्र प्राकृतिक अवयव सहित ब्रह्माण्डीय सन्तुलनका लागि वैदिक सनातन धर्मको महत्व रहेको उल्लेख गर्नुभयो । त्यस्ता दिव्यज्ञानको प्रसारका लागि महायज्ञले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

प्रकाशित मिति: २०२५-०३-१३ , समय : १०:२४:४० , २ दिन अगाडि