२५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस भब्यताका साथ मनाइदै

रुपन्देही खबर , ७४  पटक हेरिएको

लुम्बिनी, बैशाख २७

बुद्ध जन्मस्थल लुम्बिनीमा २५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ भब्यताका साथ मनाउने तयारी गरिएको छ । यही बैशाख २८, २९ र ३० गते तीन सम्म बुद्धजयन्ती एवम् लुम्बिनी दिवस उत्सवका रुपमा मनाउने लुम्बिनी विकास कोषले शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले भगवान गौतम बुद्धको आजभन्दा २६४९ बर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा मायादेवीको कोखबाट वैशाख शुक्लपूर्णिमाका दिन जन्म भएकोले बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले बिशेष महत्वका साथ मनाउँदै आएको र यसैदिन लुम्बिनी दिवसका रुपमा समेत मनाउने गरिएको बताउनु भएको छ ।

उहाले नेपालको ऐेतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई लुम्बिनीले बिश्व मंचमा अझै मजबुत बनाएको जोड दिदै यसको संरक्षण,प्रवद्र्धन तथा प्रचारप्रसार गर्नु सम्पुर्ण नेपालीको कत्र्तब्य भएको जोड दिनु भयो । उपाध्यक्ष डा. लामाले विश्व शान्तीको केन्द्र लुम्बिनीको बिकासका लागी राज्यले निती निमार्ण गरी यसको बिकास गर्न आवश्यक रहेको बताउनु भएको छ ।

यस्तै गरी यहि बैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ’२५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस’ विशेष समारोह अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा उदघाटन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिनु भएको छ । उहाले विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डे सहित संघिय तथा प्रदेश मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधिसभा,प्रदेशसभाका सदस्यहरु सहित उच्चस्तरीय पदाधिकारीहरु, कुटनितिक नियोगका प्रतिनिधिहरुका साथै थुप्रै विदेशी पाहुनाहरुको समेत सहभागिता रहने बताउनु भएको छ ।


२५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृती पर्यटन तथा नागरिक उडडन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मुल आयोजक समिति गठन भएको गरिएको छ भने अन्य समितिहरुमा ३० सदस्यीय सल्लाहकार समिति, कोषका उपाध्यक्ष एब. संविधान सभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) को संयोजकत्वमा मूल व्यवस्थापन समिति एवं पूजा, परित्राण तथा माणी मोलम व्यवस्था उपसमिति गठन गरिएको छ । यस्तै गरी कोषाध्यक्ष ढुण्डिराज भटटराईको संयोजकत्वमा प्रचार प्रसार र रामग्राम, देवदह समन्वय उपसमिती, सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा ब्यवस्था, तथा स्वयमसेवक ब्यवस्था उपसमिती, कार्यकारी सदस्य श्याम मिझारको संयोजकत्वमा अतिथी सत्कार , आवास तथा यातायात ब्यवस्था उपसमिती, परिषद सदस्य गोपीकृष्ण शर्माको संयोजकत्वमा कपिलबस्तु समन्वय उपसमिती, कार्यकारी सदस्य बिश्वराज पौडेलको संयोजकत्वमा शोभायात्रा, प्रसाद बितरण, तथा भोजन ब्यवस्थापन उपसमिती, योजना प्रमुख स्मिता भटटको संयोजकत्वमा मायादेवी मन्दिर, मंच साजसज्जा तथा सरसफाइ ब्यवस्था उपसमिती र बरिष्ठ निर्देशक ज्ञानिन राईको संयोजकत्वमा प्रकाशन बितरण तथा कार्यक्रम ब्यवस्था उपसमिती गठन गरी कामहरु भैरहेको लुम्बिनी बिकास कोषले जानकारी दिएको छ ।

बैशाख २८गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ भने वैशाष २९ गते विहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गूरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, विहान साँढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने आयोजकले जनाएको छ । यसका साथै बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राम, प्राचिन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरुसंगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइने भट्टराईले जानकारी दिनु भएको छ ।

बुद्ध जयन्तीकै अवसरमा बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाई कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रशुति उत्सव लगायतका कार्यक्रमहरु आयोजना गरिदै छ । भगवान बुद्धको ज्ञानको महत्व दर्शाउनका लागि देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिका सहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न कोषले अपिल समेत गरेको छ । बुद्धजयन्तीको भोलीपल्ट बैशाख ३० गते बर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा हुनेछ । लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको उहाले जानकारी दिनु भएको छ । लुम्बिनीबाट कपिलबस्तु सम्म मायादेवी मार्ग हुदै बुद्धकालिन अवस्थाको झल्को दिने गरी शोभायात्रा गरिने लुम्बिनी विकास कोषले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२५-०५-१० , समय : २१:५२:३४ , ५ घन्टा अगाडि