रुपन्देही खबर , १०९ पटक हेरिएको

चितवन ,साउन १६
चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पुगेकामध्ये १५ दिनमा २० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । साउनको बितेका १५ दिनमा २० जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गी सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये १४ जना चितवनका हुन् भने ६ जना जिल्ला बाहिरका छन् ।
जनस्वास्थ्य अधिकृत पोखरेलका अनुसार लामखुट्टेका लागि अनुकूल वातावरण बनेको र साउन, भदौ र असोजमा डेङ्गीको सङ्क्रमण उच्च हुने गर्छ ।
यस्तै स्क्रब टाइफसका बिरामी पनि बढेका छन् । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ३२ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये २३ जना चितवनका हुन् भने नौ जना जिल्लाबाहिरका छन् । स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो । याे मुसामा पाइने माइट अर्थात् (किर्नाजस्तो देखिने कीरा) को टोकाइबाट मानिसमा सर्छ । माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, वा घरवरिपरिको फोहर क्षेत्रमा पाइन्छ । यस्ता सङ्क्रमणबाट जोगिन वरपरको वातावरण सरसफाइ र शरीर पूरै ढाकिने कपडा लगाउन डाक्टरको सल्लाह छ ।
प्रकाशित मिति: २०२५-०८-०१ , समय : १९:४४:२६ , १५ घन्टा अगाडि