सिद्धार्थनगर–५ मा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ८८  पटक हेरिएको

भैरहवा, भदौ ५

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा तीज मिलन तथा दर खाने कार्यक्रम एक कार्यक्रमका बिच सम्पन्न गरेको छ ।

वडा अध्यक्ष अधिवक्ता पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा आज बिहिवार भैरहवामा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख खानले महिलाहरुको महान पर्व हरितालिका तीज जस्ता चाडपर्वले सामाजिक सद्भाव र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउदै आएको बताउनुभएको छ । उहाँले “सिद्धार्थनगर नगरपालिका बहुजातीय, बहुसांस्कृतिक नगर भएकोले तीज जस्ता चाडपर्वहरूले यही विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको बताउनु भएको छ । उहाले नगरपालिकाले आगामी दिनमा पनि यस्ता सांस्कृतिक गतिविधिहरूलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै गरि वडाअध्यक्ष अधिवक्ता पुरन प्रसाद श्रेष्ठले महिलाहरुको धार्मिक र सांस्कृतिक पर्वलाई एकताको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “तीज पर्वले आमा–दिदीबहिनीहरूलाई मात्र होइन, सम्पूर्ण समाजलाई एकतामा बाँध्ने माध्यम बनेको छ । उहाले यस्ता कार्यक्रमहरूले हाम्रो संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँने बिश्वास व्यक्त गर्नु भएको छ ।

वडा सदस्य किरण देवी सुनारको स्वागत मन्तव्य रहेको कार्यक्रममा समाजसेवी नारायण अग्रवाल,आनन्द गुप्ता, वडा नम्बर १३ का अध्यक्ष सोम बहादुर गुरुङ, वडा सदस्य सिता बुढाप्रिति, निलु सिरिस लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन वडा सदस्य सरस्वती श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२५-०८-२१ , समय : २१:४७:५४ , ४ घन्टा अगाडि