हारे पनि हार मान्दैनन् : भोपेन्द्र यादवको इतिहास रच्ने सपना”

रुपन्देही खबर , १४४  पटक हेरिएको

भैरहवा, फागुन २४

प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही–४ बाट उम्मेदवारी दिनु भएका भोपेन्द्र यादवले निर्वाचन परिणाम जनताको निर्णय भएकाले पूर्ण सम्मानका साथ स्वीकार गरेको बताउनुभएको छ।

उहाँले यो यात्रा केवल प्रतिस्पर्धा मात्र नभई विश्वास, मूल्य र चरित्रको परीक्षा रहेको उल्लेख गर्दै भन्नुभयो, “हिम्मत हार्ने र हरेस खाने ब्यक्ति म होइन। कुनै दिन इतिहास रच्ने क्षमता हामीसँग छ, र त्यो दिन पनि आउँछ।”

यादवले आफ्नो निर्वाचन अभियान सधैं सम्मान, मर्यादा र शालीनताका साथ अघि बढाएको र आफ्नो विश्वास तथा सिद्धान्तमा अडिग रहेर चुनाव लडेको बताउनुभयो। साथै, मतदाता, साथीभाइ, शुभेच्छुक र पार्टीका नेता–कार्यकर्ताप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्नुभयो।

निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बनियालाई यादवले बधाई दिएर सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले भावी प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने लगायतका नेताहरूलाई पनि नयाँ राजनीतिक ऊर्जा र आशा जगाउने प्रयासका लागि बधाई दिनुभयो।

यादवले आफ्नो प्रतिबद्धता यहीँ समाप्त नभई आगामी दिनमा पनि रुपन्देही र देशको हितमा सक्रिय रूपमा काम गर्दै जनताको सेवा गर्न तयार रहेको स्पष्ट पार्नुभयो। “जनताको निर्णय सधैं सम्मानयोग्य हुन्छ। भविष्यमा पनि रुपन्देही–४ को विकास, समृद्धि र जनताको हितका लागि सकारात्मक सोच र सहकार्यका साथ अगाडि बढ्नेछौं,” उहाँले भन्नुभयो।

प्रकाशित मिति: २०२६-०३-०८ , समय : १५:०२:२४ , १७ घन्टा अगाडि