रुपन्देही खबर , ८९ पटक हेरिएको
भैरहवा, फागुन २७
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा प्रत्यक्षतर्फ प्रतिष्पर्धा गरेकामध्ये २ हजार ८ सय ९० जनाको जमानत जफत भएको छ । चुनावमा तीन हजार चार सय ६ जना उम्मेदवार रहेकामा २ हजार ८ सय ९० जनाको जमानत जफत भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।
५ सय १६ जनाले मात्रै जमानत जोगाएका छन् । चुनावमा भाग लिनका लागि उम्मेदवारले कानून बमोजिम निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था छ । यदि ती उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको कुल सदर मतको १० प्रतिशत मत पाएमा जमानत फिर्ता हुन्छ ।
१० प्रतिशत भन्दा कम मत पाउनेको जमानत जफत हुन्छ । जमानत जफत भएका मध्ये ३ सय ५० जनाले त एक मत पनि पाएका छैनन् । ती उम्मेदवारले आफूले आफैंलाई वा आफ्नो परिवार वा प्रश्तावक र समर्थकले समेत मत नदिएका हुन् ।
जमानत जोगाउन सफल ५ सय १६ जना उम्मेदवारले आफ्नो धरौटी रकम फिर्ता पाउनका लागि चुनावको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ । ऋतपूर्वक निवेदन दिएपछि उनीहरुले कानून बमोजिम आफ्नो रकम फिर्ता पाउने आयोगले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०३-११ , समय : १५:१४:३८ , २ घन्टा अगाडि