नेपाल पत्रकार महासंघ नवलपरासीको २५औँ वार्षिक साधारणसभा सम्पन्न

पत्रकार सत्तापक्ष वा प्रतिपक्ष होइन, नागरिकको पक्षमा हुन्छ : अध्यक्ष शर्मा

रुपन्देही खबर , १६२  पटक हेरिएको

नवलपरासी, भदौ १५

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीको २५औँ वार्षिक साधारणसभा आइतबार रामग्राम नगरपालिका–१४ मा सम्पन्न भएको छ। महासंघका कार्यवाहक अध्यक्ष विकास अधिकारीको अध्यक्षता तथा महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार सत्तापक्ष वा प्रतिपक्ष नभई सधैं नागरिकको पक्षमा हुने बताउनुभयो। पत्रकारिता नागरिकको अधिकार र आवाजसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले सत्य, तथ्य र जवाफदेही पत्रकारिताका लागि सूचनामा सहज पहुँच सुनिश्चित हुनुपर्ने उहाँको भनाइ थियो।

अध्यक्ष शर्माले पछिल्लो समय पत्रकारले स्वतन्त्र रूपमा लेख्न र बोल्न पाउने वातावरण कमजोर हुँदै गएको बताउनुभयो। राज्य सञ्चारमाध्यमप्रति सहिष्णु बन्न नसकेको आरोप लगाउँदै उहाँले लोकतन्त्र बलियो बनाउन स्वतन्त्र र बलियो सञ्चारमाध्यम आवश्यक रहेको बताउनुभयो। “लोकतन्त्रमा मिडिया बलियो भएन भने लोकतन्त्र बलियो हुँदैन र त्यहाँ सुशासन पनि हुँदैन,” उहाँले भन्नुभयो, “त्यसैले पत्रकार जहिले पनि नागरिकको पक्षमा हुनुपर्छ।”

सरकारका सूचना सम्बन्धित मन्त्रालय तथा निकायबाट सहज रूपमा उपलब्ध हुनुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रीका सामाजिक सञ्जालका पेजबाट सूचना लिनुपर्ने बाध्यता सिर्जना हुनु दुःखद् भएको अध्यक्ष शर्माले बताउनुभयो। सरकार र नागरिकबीच दोहोरो संवाद नहुनु, नागरिकका प्रश्न दबाइनु र सरकार जवाफदेही नबन्नु सरकारको कमजोरी भएको उल्लेख गर्दै उहाँले सरकारलाई पारदर्शी र जवाफदेही बन्न आग्रह गर्नुभयो।

अध्यक्ष शर्माले नेपाली सञ्चारमाध्यमलाई सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनमा कटौती गरेर मिडियाप्रति असहिष्णु व्यवहार देखाइएको आरोप लगाउनुभयो। प्रदेश तथा स्थानीय तहले सञ्चारसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सञ्चारमाध्यमसँगको सहकार्यलाई थप बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो।

उहाँले पत्रकारिता क्षेत्रलाई जिम्मेवार, मर्यादित र व्यावसायिक बनाउन पत्रकार स्वयंले पत्रकार आचारसंहिता र पेशागत मूल्यमान्यताको पालना गर्नुपर्नेमा जोड दिनुभयो। सञ्चारमाध्यमले नागरिकका आवाज र जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्ने उहाँको भनाइ थियो।

प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्रमा आएको परिवर्तनले पत्रकारका लागि अवसरसँगै चुनौतीसमेत थपेको उल्लेख गर्दै अध्यक्ष शर्माले डिजिटल माध्यमबाट समाचार सम्प्रेषण गर्दा तथ्य परीक्षण र स्रोतको विश्वसनीयतामा विशेष ध्यान दिन आग्रह गर्नुभयो। पत्रकारको पेशागत हकहित र सुरक्षाका विषयमा महासंघले निरन्तर आवाज उठाउँदै आएको उहाँले बताउनुभयो।

कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले स्थानीय तह र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। स्थानीय सरकारका कामकारबाही तथा विकास निर्माणका गतिविधिबारे नागरिकलाई सुसूचित गराउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले स्थानीय तहका सकारात्मक कामसँगै कमजोरीलाई पनि तथ्यका आधारमा उजागर गर्न पत्रकारलाई आग्रह गर्नुभयो।

नगर प्रमुख यादवले रामग्राम नगरपालिकाले सञ्चालनमा ल्याएको हडैया हेरिटेज सामुदायिक होमस्टेको प्रचारप्रसारमा सहयोग गर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो।

महासंघ नवलपरासीका कार्यवाहक अध्यक्ष विकास अधिकारीले शाखाको सांगठनिक अवस्था, विगतका गतिविधि तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो। उहाँले पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि, श्रमजीवी पत्रकारको हकहित संरक्षण तथा जिल्लाको पत्रकारितालाई थप व्यवस्थित र मर्यादित बनाउन महासंघले आगामी दिनमा प्राथमिकताका साथ काम गर्ने बताउनुभयो।

साधारणसभामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेल, नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, महासंघ नवलपरासीका निवर्तमान अध्यक्ष तथा सल्लाहकार हरि शर्मा, सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्याल, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष नागेन्द्र अग्रहरी तथा नेपाल पत्रकार महासंघकी उपाध्यक्ष उर्मिला यादवले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले पत्रकारिता लोकतन्त्र, सुशासन, पारदर्शिता र नागरिक अधिकार संरक्षणको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र सन्तुलनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। स्थानीय तहका गतिविधि, विकास निर्माण, सामाजिक समस्या तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने उनीहरूको भनाइ थियो।

त्यस्तै, पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास तथा सञ्चारमाध्यमको संस्थागत सुदृढीकरणका लागि पत्रकार महासंघ, स्थानीय तह, प्रशासन तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको वक्ताहरूले बताएका थिए।  साधारणसभामा महासंघका सचिव अनिल यादवले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्याम बुचा मगरले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएका छन्।

साधारणसभाको अवसरमा महासंघका अध्यक्ष स्वर्गीय केशव पराजुलीकी धर्मपत्नीलाई नगद र सम्मानपत्र सहित सम्मान गरिएको थियो कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, प्रशासनिक अधिकारी, पत्रकार महासंघका पदाधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२६-०८-३१ , समय : २०:०६:०९ , १ हप्ता अगाडि