रुपन्देहीको तिलोत्तमामा आफ्नै श्रीमतीद्वारा श्रीमान्‌को हत्या

रुपन्देही खबर , ५०५  पटक हेरिएको

बुटवल,भदौ ३०

रुपन्देहीको तिलोत्तमामा एक महिलाले आफ्नै श्रीमान्‌को हत्या गरेकी छन् । तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थारुले मंगलबार राति घरभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी थिइन् । मृतक थारुका छिमेकी ५२ वर्षका फुलचन्द्र बानियाँसँगको मिलेमतोमा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताउनु भएको छ ।

केसीका अनुसार केही वर्षअघि श्रीमान्‌ले जग्गा बिक्री गरेको र पैसा उठाउन नसकेको रिस पालेकी ग्रिजादेवी थारुले बानियाँसँग ७ लाख ऋण सहयोगसमेत लिएकी थिइन् । बानियासँग अवैध सम्बन्ध रहेको श्रीमान्‌ले थाहा पाएपछि उनीहरुबीच पटक–पटक झगडा हुने गरेको थियो । थारु र बानियाँबीच जगदीशलाई मारी विवाह गर्ने योजना बनेको केसीले बताउनु भयो ।

जगदीशको हत्या गर्न सघाएको भन्दै प्रहरीले बानियाँलाई पनि पक्राउ गरेको छ । उनीहरुलाई अदालतबाट ७ दिनको म्याद लिएर थुनामा राखी अनुसन्धान अघि बढाएको उहाले बताउनु भएको छ ।

श्रोत:खबरकुरा

प्रकाशित मिति: २०२२-०९-१५ , समय : २०:५८:०४ , २ वर्ष अगाडि