भैरहवाका सुशील गुरुङ काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

रुपन्देही खबर , ५२  पटक हेरिएको

भैरहवा,असोज २९ 

नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट रुपन्देहीको सिद्धार्थनगर निवासी सुशील गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । जनजाति समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित गुरुङ विद्यार्थी राजनीतिदेखि पार्टीको क्षेत्रीय नेतृत्वसम्मको जिम्मेवारी सम्हाल्दै केन्द्रीय तहमा पुग्नुभएको हो ।

राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय गुरुङको निर्वाचित भएसँगै भैरहवा तथा रुपन्देहीका काँग्रेस नेता–कार्यकर्ताले खुसी व्यक्त गरेका छन् । काठमाडौंमा जारी महाधिवेशनको मतगणनाका क्रममा गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएको काँग्रेस नेता लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।

गुरुङले विद्यार्थी जीवनदेखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै पार्टी संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँ २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य बनेर राजनीतिक यात्रामा प्रवेश गर्नुभएको थियो । त्यसपछि भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति हुँदै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिसम्मको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसक्नुभएका गुरुङ यसपटक केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । काँग्रेसको विशेष महाधिवेशनका क्रममा गगन थापाको पक्षमा उभिनुभएका उहाँ गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसको उम्मेदवारसमेत बन्नुभएको थियो ।

४७ वर्षीय गुरुङ त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर (एमबीएस) उत्तीर्ण हुनुहुन्छ । उहाँ विद्यार्थी राजनीतिसँगै सामाजिक संघसंस्थामा समेत लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ ।

गुरुङले तमु विद्यार्थी छोज धिं, सिद्धार्थ जेसीज, नेपाल रेडक्रस सोसाइटी तथा लायन्स क्लबजस्ता संस्थामा विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएको छ । उहाँ पक्लिहवा माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षका रूपमा पनि काम गरिसक्नुभएको छ । राजनीतिक संगठनसँगै सामाजिक संस्थामा संलग्नताले उहाँलाई स्थानीय तहमा परिचित गराएको छ ।

भैरहवामा हुर्किनुभएका गुरुङ रुपन्देहीको सामाजिक, आर्थिक तथा भौगोलिक अवस्थाबारे जानकार नेताका रूपमा परिचित हुनुहुन्छ । सरल स्वभाव र मिलनसार व्यवहारका कारण स्थानीय नेता–कार्यकर्ता तथा सामाजिक क्षेत्रमा आबद्ध व्यक्तिहरूसँग उहाँको सम्बन्ध रहँदै आएको छ ।

विद्यार्थी राजनीतिबाट पार्टीको क्षेत्रीय नेतृत्व हुँदै केन्द्रीय सदस्यसम्म पुग्नुभएका गुरुङको नयाँ जिम्मेवारीलाई रुपन्देहीका काँग्रेस कार्यकर्ताले पार्टीको केन्द्रीय तहमा जिल्लाको प्रतिनिधित्वका रूपमा लिएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै पार्टी संगठनमा उहाँको भूमिका र आगामी राजनीतिक गतिविधि चासोको विषय बनेको छ ।

प्रकाशित मिति: २०२६-१०-१५ , समय : ११:३७:३४ , १ दिन अगाडि