उर्मिला यादव यात्री , ३५१ पटक हेरिएको
सुनवल, जेठ ९
नवलपरासीको सुनवलमा आजदेखी पत्रकार महिलाहरुको लागी क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीको आयोजना तथा सुनवल नगरपालिकाको सहयोगमा ४ दिने तालीमको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । तालिमको उद्घाटन गर्दै सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्यालले जनता संग प्रत्यक्ष जोडिएका सवालहरुमा पत्रकारले तटस्थ , निश्पक्ष र सत्यतथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनु भएको छ । उहाले यसले समाज रूपान्तरणका निम्ति टेवा पुग्ने बताउदै राम्रा र वास्तविक कामहरुको समाचार सम्प्रेषण गरि नराम्रा कामहरुको सुझाव दिन आग्रह गर्नु भएको छ । नगरप्रमुख अर्यालले यस्तो भुमिका निर्वाह गर्न सके समाजमा रहेका बिकृती, बिसंगति र कु संस्कारको अन्त्य गर्दै बिकास र समृद्धिको निम्ति सहयोग पुग्ने बिश्वास व्यक्त गर्नु भएको छ । उहाले बिगतमा जे जस्तो क्रियाकलाप भए पनि आगामी दिनहरुमा सत्यतथ्य र स्पष्ट ढंगले समाचार सम्प्रेषण गर्नु हुनेछ जसमा नगरले पनि समन्वय र सहकार्य गर्दै अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाले समृद्ध सुनवल सुखी सुनवलवासी बनाउने सपनामा पत्रकारको पनि उत्तिकै जिम्मेवारी रहने भएकोले राम्रा कुराहरुको उजागर गरिदिन आग्रह गर्नु भयो ।
नगरप्रमुख अर्यालले सुनवल नगरपालिकाले जनताको हकहितका लागि जनमुखी चाहना र कामलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउनु भयो । उहाले नगरपालिका भित्र यौनहिंसामा परेका महिला तथा बालबालिकाहरुलाइ संगठित गर्दै सिपमुलक तालिम प्रदान गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्दै आएको र त्यस्ता महिला तथा बालबालिकाका लागि सेफ हाउसको निर्माण समेत भैरहेको जानकारी दिनु भएको छ । उहाले सुनवल नगरपालिकामा महिलाबाट उत्पादित घरेलु बस्तुलाई बजारीकरण गर्न समन्वय गर्ने गरी महिलासीप तथा बहुउद्देश्यीय केन्द्रको भवन समेत निर्माण भैरहेको बताउनु भएको छ । उहाले सुनवल नगरपालिकामा भौतिक पुर्वाधार बिकास निर्माणका कार्यहरु थुप्रै भएको बताउनु भयो । उहाले कुनै पनि ठाउमा महिलाले नेतृत्व गरिरहदा धेरै चुनौतीको सामना गर्नु परेको बताउदै त्यस्ता चुनौतीलाई हिम्मतका साथ सामना गरेको बताउनु भएको छ ।
यस्तै गरि कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका अध्यक्ष हरि शर्माले नवलपरासीमा रहेका पत्रकार महिलाहरुले पत्रकारिता क्षेत्रमा काम गर्दा धेरै असहज र विभिन्न समस्याहरुको सामना गर्दै काम गर्नु परेको बताउनु भएको छ ।उहाले पत्रकार महिलाहरूलाई घर देखि बाहिरसम्म काम गरेर पत्रकारिता पनि गर्नु परेकोले महिलालाई आफ्नो पेसामा खटिन समस्या भएको बताउनु भएको छ । कतिपय मिडिया हाउसमा पत्रकार महिलाहरु नै कर्मचारीबाट शोषणमा परेकोले महिलाहरुको समस्या खुलेर बाहिर ल्याउन सहज वातावरण बन्ने र प्रेरणा प्रदान गर्ने उदेश्यले महिला प्रशिक्षक चयन गरिएको बताउनु भएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा सुनवल नगर उपप्रमुख सुर्य प्रसाद दुबे, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पुर्व सभापति एवम सल्लाहकार केशव पराजुली, नेपाल पत्रकार महासंघ पुर्व केन्द्रिय सदस्य पुरुसोत्तम सुबेदी,सन्चारिका समूह लुम्बिनी प्रदेश सदस्य बिष्णु खनाल, प्रेस चौतारीका जिल्ला अध्यक्ष मेघराज गौतम , रेशम प्रसाद शर्मा , इन्दिरा बिश्वकर्मा लगायतले बोल्दै तालिममा सिकेका कुराहरु ब्यवहारमा उतार्न आग्रह गर्नु भएको थियो ।
४० जना महिला पत्रकारहरुको सहभागीता रहेको कार्यक्रमको सहजीकरण कान्तिपुर बुटवल ब्युरो सन्जु पौडेलले गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका अध्यक्ष हरि शर्माको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रकाशित मिति: २०२३-०५-२३ , समय : २०:४९:४० , १ वर्ष अगाडि