महिलामाथि हुने घरेलु हिंसा रोक्न प्रभावकारी कदम चाल्न माग गर्दै प्रजिअ मार्फत सरकारलाई ज्ञापन पत्र

धनिराम कोरी , ७३४  पटक हेरिएको

कपिलवस्तु , जेठ १७

एमाले निकटको अखिल नेपाल महिला संघ कपिलवस्तुले महिलामाथि हुने घरेलु हिंसा रोक्न प्रभावकारी कदम चाल्न माग गर्दै प्रजिअ मार्फत सरकारलाई ज्ञापन पत्र पठाएको छ । ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको मुल्य वृद्धिले जनजीवन चल्नै नसक्ने गरी महंगीको मारमा परेको भन्दै अविलम्व मुल्य घटाउन माग गरिएको छ । संघद्वारा राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत ज्ञापन पत्र बुझाईएको हो ।

ज्ञापन पत्रमा हाल महिला अधिकार हनन जारी रहेको , महिला विरुद्धको घरेलु हिंसा बढ्दै गएको , शैक्षिक क्षेत्रमा र अन्य कार्यक्षेत्रमा भएका श्रृंखलावद्ध यौन अपराध , बलात्कार र हत्या जस्ता गम्भिर प्रकृतिका घट्नाहरु प्रति अनेमसंघ मर्माहत भएको उल्लेख छ ।

अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य शारदा शर्माको अगुवाइमा नेकपा एमाले जिल्ला उपसचिव शुसिला दर्लामी,अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष चेतना अधिकारी, संघकी जिल्ला सचिव धनु अधिकारी लगायतले ज्ञापन पत्र बुझाउनु भएको हो ।

गठबन्धन सरकारले जनतालाई ढाड सेक्ने गरी ल्याएको महंगी, मूल्यवृद्धि, कालाबजारी अनियमितता, बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ । पीडीतलाई क्षतिपुर्ति सहित सुरक्षित जीवनयापनको व्यवस्था गर्न भनिएको छ ।

अनेमसंघका नेताहरुले बुझाएको ज्ञापन पत्र बुझदै आफ्ना ठाउवाट गर्न सकिने पहल गर्ने र अरु विषय सरकारको ध्यानाकर्षणका लागि पठाइदिने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले वताउनु भयो ।

प्रकाशित मिति: २०२२-०५-३१ , समय : १०:२८:१० , २ वर्ष अगाडि