गोविन्द यादव–रोशन थापाको पहलमा सिद्धार्थनगर–४ बाट धार्मिक तीर्थयात्रा

उर्मिला यादव यात्री , ८५  पटक हेरिएको

भैरहवा, साउन १३

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का ५ सयभन्दा बढी नागरिकलाई त्रिवेणीधाम, गजेन्द्रमोक्षधाम, सिसमहल लगायत नवलपरासीका विभिन्न धार्मिकस्थलमा धार्मिक तीर्थयात्रा गराइएको छ। युवा तथा समाजसेवी सिद्धार्थनगर–४ को आयोजनामा सोमबार सम्पन्न तीर्थयात्रा संस्थाका संरक्षक गोविन्द यादव र अध्यक्ष रोशन बहादुर थापाको विशेष पहलमा सञ्चालन गरिएको हो ।

सिद्धार्थनगर–४ बाट बिहान १० वटा बस र एक एम्बुलेन्स सहित तीर्थयात्रीहरू धार्मिक भ्रमणका लागि प्रस्थान गरेका थिए। संस्थाका अनुसार यस वर्ष १० वटा बसमार्फत ५ सयभन्दा बढी स्थानीय नागरिकलाई, विशेषगरी महिलाहरू र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी तीर्थयात्रा गराइएको हो । धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै समुदायबीच सामाजिक एकता र सद्भाव कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका अवसरमा बोल्दै संस्थाका संरक्षक तथा युवा समाजसेवी गोविन्द यादवले वडावासीको माग र इच्छाअनुसार धार्मिक तीर्थयात्राको आयोजना गरिएको बताउनुभयो । उहाँले जनताको भावना र आवश्यकतालाई सम्बोधन गर्नु आफ्नो सामाजिक दायित्व भएको उल्लेख गर्दै विगतका वर्षहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिएको र आगामी दिनमा समेत देशका विभिन्न धार्मिकस्थलमा वडावासीलाई भ्रमण गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले धार्मिक यात्राले मानिसमा आध्यात्मिक चेतना बढाउनुका साथै सामाजिक सद्भाव र आपसी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै गरी संस्थाका अध्यक्ष रोशन बहादुर थापाले ११ जना सदस्यबाट स्थापना भएको संस्था अहिले दुई सयभन्दा बढी सदस्यसम्म विस्तार भएको जानकारी दिनुभयो। संस्था स्थापना भएदेखि नै प्रत्येक वर्ष साउन महिनामा सिद्धार्थनगर–४ का आमाहरूलाई प्राथमिकतामा राखी धार्मिक यात्रा गराउने परम्परा कायम राखिएको उहाँले बताउनुभयो।

थापाका अनुसार गत वर्ष रुपन्देहीका प्रकटेश्वर धाम, पर्रोहा धाम, बसडिलवा शिव मन्दिर तथा अन्य धार्मिकस्थलको भ्रमण गराइएको थियो भने यसअघि अयोध्याधामसम्म पनि तीर्थयात्रा सञ्चालन गरिएको थियो। उहाँले आगामी वर्षहरूमा अझ व्यवस्थित र बृहत् रूपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै सहयोगदाता, स्वयंसेवक, संस्थाका सदस्य तथा सम्पूर्ण वडावासीप्रति आभार व्यक्त गर्नुभयो ।

यस्तै गरी संस्थाका कोषाध्यक्ष अमिर खानले साउन महिनामा धार्मिक तीर्थयात्रा सञ्चालन गर्ने अवधारणा नै समाजसेवी गोविन्द यादव र अध्यक्ष रोशन थापाको रहेको बताउनुभयो । उहाँले दुवै जनाको सक्रिय नेतृत्व र समन्वयका कारण हरेक वर्ष सयौं नागरिकलाई धार्मिक यात्रा गराउन सम्भव भएको उल्लेख गर्नुभयो ।

तीर्थयात्रामा सहभागी दिलमाया गुरुङले आफूहरूलाई नियमित रूपमा धार्मिक भ्रमण गराउँदै आएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रम समाजका लागि प्रेरणादायी रहेको बताउनुभयो । उहाँले रुपन्देही र नवलपरासीका धार्मिकस्थलमात्र नभई अयोध्याधामसम्म दर्शन गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको धारणा राख्नुभयो।

 

अर्की सहभागी दिलु भुजेलले प्रत्येक वर्ष धार्मिक यात्रामा सहभागी हुन पाउँदा अत्यन्त खुसी लागेको बताउँदै धार्मिक भ्रमणले मानसिक शान्ति र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाएको अनुभव सुनाउनुभयो।

स्थानीय मोहम्मद अलीले सिद्धार्थनगर–४ बाट एम्बुलेन्ससहित १० वटा बसमा सयौं नागरिकलाई धार्मिक तीर्थयात्रामा पठाइएको दृश्यले वडामा सामाजिक एकता, सद्भाव र सेवाभावको सशक्त सन्देश दिएको बताउनुभयो। उहाँले धर्म, जाति र समुदायभन्दा माथि उठेर सबै वर्गका नागरिकलाई समेट्दै सञ्चालन गरिएका यस्ता कार्यक्रमले समाजमा आपसी विश्वास, सहकार्य र भाइचाराको भावना थप मजबुत बनाएको धारणा व्यक्त गर्नुभयो।

उहाँले समाजसेवी गोविन्द यादवको दूरदर्शी सोच र सक्रिय नेतृत्वकै कारण धार्मिक तथा सामाजिक सेवामूलक कार्यक्रमले निरन्तरता पाएको उल्लेख गर्नुभयो। शिक्षा, सामाजिक सेवा र मानवीय सहयोगका क्षेत्रमा समेत उहाँको पहल उल्लेखनीय रहेको भन्दै स्थानीय समुदायको आवश्यकता र जनभावनालाई केन्द्रमा राखेर सञ्चालन गरिएका यस्ता अभियानले समाजमा सकारात्मक परिवर्तनको आधार तयार गरिरहेको उहाँले बताउनुभयो। आगामी दिनमा पनि यस्ता जनहितमुखी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

स्थानीयवासीका अनुसार युवा तथा समाजसेवी सिद्धार्थनगर–४ ले विगत केही वर्षदेखि धार्मिक, सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा आर्थिक रूपमा कमजोर वर्गलाई लक्षित गर्दै सञ्चालन गरिएका यस्ता कार्यक्रमले धार्मिक आस्थाको सम्मान गर्नुका साथै समुदायबीच सामाजिक सद्भाव र सहभागिताको संस्कृतिलाई समेत प्रवद्र्धन गरेको सहभागीहरूको भनाइ छ ।

प्रकाशित मिति: २०२६-०७-२९ , समय : २१:३६:२५ , २ घन्टा अगाडि