प्याब्सन सिद्धार्थनगरद्वारा स्पेल बी प्रतियोगिता सम्पन्न, युरो किड्स प्रथम

रुपन्देही खबर , ७५  पटक हेरिएको

भैरहवा, असोज ५

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरले विद्यार्थीको अंग्रेजी भाषासम्बन्धी ज्ञान, शब्दशुद्धता तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको स्पेल बी प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा सिद्धार्थनगर क्षेत्रका २४ वटा विद्यालयका विद्यार्थी सहभागी भएका थिए।

प्रतियोगितामा सहभागी विद्यार्थीले अंग्रेजी शब्दको सही उच्चारण, हिज्जे तथा अर्थ पहिचानसम्बन्धी विभिन्न चरणमा प्रतिस्पर्धा गरेका थिए। विद्यार्थीको अध्ययनप्रतिको रुचि बढाउनुका साथै अतिरिक्त क्रियाकलापमार्फत उनीहरूको क्षमता पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्याब्सन सिद्धार्थनगरले जनाएको छ।

कार्यक्रम संयोजक प्रतिष्ठा चालिसेले विद्यार्थीको शैक्षिक विकासलाई कक्षाकोठाभित्रको अध्ययनमा मात्र सीमित नराखी अतिरिक्त क्रियाकलापमार्फत उनीहरूको क्षमता पहिचान तथा विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताउनु भयो। उहाँले स्पेल बीजस्ता कार्यक्रमले विद्यार्थीको शब्दभण्डार र उच्चारण क्षमता विकास गर्नुका साथै आत्मविश्वास अभिवृद्धिमा सहयोग पुग्ने बताउनु भयो।

प्याब्सन सिद्धार्थनगरका कोषाध्यक्ष दीपेन्द्र मल्लिकले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्दै उनीहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनु भयो। प्याब्सन सिद्धार्थनगरले विद्यार्थीको क्षमता र प्रतिभा प्रस्फुटनका लागि मासिक रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिइने बताउनु भयो।

२४ विद्यालयका विद्यार्थी सहभागी भएकाले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र उत्साहपूर्ण बनेको आयोजकले जनाएको छ। प्रतियोगितामा युरो किड्स प्रथम भएको छ। सनसाइन इङ्लिस बोर्डिङ स्कुल र जेसिस इङ्लिस स्कुल द्वितीय भएका छन् भने काशी नोबल एकेडेमी र बीजीएन तृतीय भएका छन्।

त्यस्तै, न्यु इरा, आर्या पब्लिक र बुद्ध ज्योति स्कुलले सान्त्वना स्थान हासिल गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्याब्सन सिद्धार्थनगरले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्षमता विकासलाई समेत प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आयोजकका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीलाई अंग्रेजी भाषाको प्रयोग, उच्चारण तथा शब्दज्ञानमा अभ्यास गर्ने अवसर प्रदान गर्नुका साथै प्रतिस्पर्धात्मक क्षमता विकासमा समेत सहयोग पुर्‍याउँछ।

प्रकाशित मिति: २०२६-०९-२१ , समय : १३:२७:०४ , १ दिन अगाडि