रुपन्देही खबर , ३८ पटक हेरिएको
तस्वीर : रासस
काठमाण्डौ,असोज ७
परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय भेटवार्ता भएको छ । न्यूयोर्कमा भएको भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढी, राहत तथा पुनर्निर्माणका कार्यलगायतका विषयमा छलफल भएको न्यूयोर्कमा रहेको नेपाली नियोगले जनाएको छ ।
साथै हुकरले भोटेकोशी बाढीपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर अर्थात् झण्डै ४ अर्ब ७४ करोड रुपैयाँ बराबर सहयोग गर्ने जानकारी पनि गराउनुभएको छ ।
त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आश्रय, संरक्षण, जीविकोपार्जन र हिउँदका लागि आवश्यक सहयोगलगायतका क्षेत्रमा थप सहयोग उपलब्ध गराउने योजना अमेरिकाले सार्वजनिक गरेको छ ।
मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबीच पुनर्निर्माणका प्रयासमा अमेरिकाको निरन्तर साथ र सहयोगको विषयमा समेत कुराकानी भएको थियो । हुकर र परराष्ट्रमन्त्री खनालबीचको भेट राष्ट्रसंघको ८१औँ महासभाका लागि विश्वका नेताहरू तथा उच्च अधिकारी न्यूयोर्कमा भेला भएका बेला भएको हो ।
यस्तै परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको छ । न्यूयोर्कमा आज भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ ।
प्रकाशित मिति: २०२६-०९-२३ , समय : ०९:५३:४६ , २ घन्टा अगाडि