भैरहवामा कात्तिक २ र ३ गते डाण्डीया नाइट तथा भगवती रात्रि जागरण हुने

रुपन्देही खबर , ८२  पटक हेरिएको

भैरहवा, असोज २९

धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै विभिन्न समुदायबीच सामाजिक सद्भाव, आपसी विश्वास र एकता अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीको भैरहवामा डाण्डीया नाइट तथा भव्य भगवती रात्रि जागरण आयोजना हुने भएको छ । श्री श्री दुर्गा पूजा समिति, मैत्रीपथ–५, अखडा नम्बर २ को आयोजनामा कात्तिक २ गते डाण्डीया नाइट र कात्तिक ३ गते भगवती रात्रि जागरण सञ्चालन हुने भएको हो । दुवै कार्यक्रम सिद्धार्थनगर नगरपालिका–५, मैत्रीपथस्थित शिव मन्दिर अगाडि राति ७ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

 

कार्यक्रमबारे जानकारी दिन बुधबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष रवि जयसवालले गत वर्ष आयोजना गरिएको डाण्डीया नाइट तथा भगवती रात्रि जागरणलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको बताउनुभयो । उहाँले धार्मिक आस्था र सांस्कृतिक परम्परालाई जीवन्त राख्दै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष जयसवालका अनुसार धर्म तथा संस्कृतिको संरक्षण कुनै एक व्यक्ति वा समुदायको मात्र जिम्मेवारी नभई सबैको साझा दायित्व हो । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण नयाँ पुस्ता मौलिक परम्परा तथा सांस्कृतिक गतिविधिबाट टाढिँदै गएको अवस्थामा यस्ता कार्यक्रमले आफ्नो संस्कृति बुझ्ने र त्यसलाई पुस्तान्तरण गर्ने अवसर प्रदान गर्ने उहाँको भनाइ छ । उहाँले स्थानीय बासिन्दा, सामाजिक संघसंस्था तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहयोगमा कार्यक्रमलाई व्यवस्थित र सहभागितामूलक बनाउने प्रयास भइरहेको बताउनुभयो ।

कार्यक्रम संयोजक दीपेश गुप्ताले मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक सद्भाव प्रवर्द्धन गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँले धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्ने र नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक पहिचानबारे जानकारी गराउने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

“हाम्रो कला, संस्कृति र परम्परा नै हाम्रो पहिचान हुन् । यिनको संरक्षण र निरन्तरताका लागि नयाँ पुस्तालाई पनि सहभागी गराउनु आवश्यक छ । डाण्डीया नाइट र भगवती रात्रि जागरणले धार्मिक आस्थालाई अभिव्यक्त गर्नुका साथै स्थानीय समुदायलाई एकै ठाउँमा जोड्ने विश्वास लिएका छौँ,” गुप्ताले भन्नुभयो ।

उहाँले कार्यक्रम सफल बनाउन सिद्धार्थनगर नगरपालिका–५ र ६ का स्थानीय बासिन्दा तथा विभिन्न व्यक्तित्वबाट सहयोग प्राप्त भइरहेको जानकारी दिनुभयो । स्थानीय समुदायको साथ र सहयोगले धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न थप प्रेरणा मिलेको उल्लेख गर्दै उहाँले नगरवासीलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गर्नुभयो ।

अग्रहरी महिला मञ्च सिद्धार्थनगर, रुपन्देहीकी अध्यक्ष गायत्री अग्रहरीले डाण्डीया कार्यक्रम आयोजना गर्ने सुझाव आफूले सुरुदेखि नै दिँदै आएको बताउनुभयो । उहाँका अनुसार डाण्डीया नृत्य धार्मिक आस्थासँग जोडिएको सांस्कृतिक अभ्यास मात्र नभई सामूहिक सहभागिता, एकता र आपसी सद्भाव अभिव्यक्त गर्ने माध्यमसमेत हो ।

उहाँले विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका मानिसहरूको बसोबास रहेको भैरहवामा यस्ता कार्यक्रमले समुदायबीचको सम्बन्ध थप प्रगाढ बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । “डाण्डीया नृत्यलाई मनोरञ्जनका रूपमा मात्र हेर्नु हुँदैन । यससँग धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामूहिक एकताको भावना पनि जोडिएको छ । यस्ता कार्यक्रमले एकअर्काको संस्कृति बुझ्न, सम्मान गर्न र समाजमा सद्भाव कायम राख्न सहयोग पुर्‍याउँछन्,” अग्रहरीले भन्नुभयो ।

समितिका सचिव विशाल श्रीवास्तवले विजयादशमी तथा दुर्गा पूजाका अवसरमा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रम आयोजना गरी हर्षोल्लासका साथ पर्व मनाउने परम्परालाई निरन्तरता दिन लागिएको बताउनुभयो । उहाँले धार्मिक गतिविधिमार्फत स्थानीय समुदायलाई एकताबद्ध गर्दै सांस्कृतिक परम्पराको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

सिद्धार्थनगर नगरपालिका–५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि स्थानीयस्तरमा आयोजना हुने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले यस्ता गतिविधिले समुदायबीचको सम्बन्ध सुदृढ गर्नुका साथै स्थानीय सांस्कृतिक पहिचानलाई स्थापित गर्न सहयोग गर्ने उल्लेख गर्नुभयो ।

वडाध्यक्ष श्रेष्ठका अनुसार वडा कार्यालयले कार्यक्रमलाई विगतदेखि नै सहयोग गर्दै आएको छ । गत वर्ष कार्यक्रमका लागि ३० हजार रुपैयाँ सहयोग गरेको वडा कार्यालयले यस वर्ष सहयोग रकम बढाएर ४० हजार रुपैयाँ उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो । स्थानीय तहले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्दा समुदायमा सहकार्य र अपनत्वको भावना विकास हुने उहाँको भनाइ छ ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीका उपाध्यक्ष दीपेन्द्र बडुवालले भैरहवामा आयोजना हुन लागेको कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले बहुसांस्कृतिक समाजका रूपमा परिचित भैरहवामा विभिन्न समुदायले आ–आफ्ना धर्म, संस्कृति र परम्परासँग सम्बन्धित गतिविधि आयोजना गर्दा सामाजिक सद्भाव र आपसी विश्वास अभिवृद्धि हुने बताउनुभयो ।

बडुवालले सांस्कृतिक विविधता नेपालको विशेषता भएको उल्लेख गर्दै एकअर्काको धर्म, आस्था र परम्पराप्रति सम्मान गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मौलिक कला तथा संस्कृतिको संरक्षणमा युवा पुस्ताको सहभागिता आवश्यक रहेको बताउँदै युवाहरू नै कार्यक्रमको नेतृत्वमा अघि सर्नु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो ।

यसैबीच, रसुवालगायत विभिन्न जिल्लामा बाढीका कारण ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै विशेष पूजासमेत गरिने आयोजकले जनाएको छ । धार्मिक कार्यक्रमसँगै प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले विशेष पूजा राखिएको आयोजकको भनाइ छ ।

आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमले धार्मिक आस्था अभिव्यक्त गर्नुका साथै मौलिक संस्कृति र परम्पराको संरक्षण, युवा पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि तथा विभिन्न समुदायबीच सामाजिक सद्भाव कायम गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०२६-१०-१५ , समय : १९:१६:२६ , ३ घन्टा अगाडि