रुपन्देही खबर , ४१ पटक हेरिएको
भैरहवा, असोज ३०
नेपाली काँग्रेसका नेताहरूले पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्दै संगठनलाई एकढिक्का बनाएर जनतामाझ लैजानुपर्नेमा जोड दिएका छन्। बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीलाई रूपान्तरण गर्दै नागरिकका समस्या र अपेक्षालाई सम्बोधन गर्नुपर्ने उनीहरूको भनाइ छ।
नेपाली काँग्रेस सिद्धार्थनगर नगर समितिले विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुक्रबार भैरहवामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी नेताहरूले पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।
कार्यक्रममा काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले पार्टीलाई समयअनुसार रूपान्तरण गर्दै जनतासँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले काँग्रेसलाई रूपान्तरित पार्टीका रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गर्दै युवा नेतृत्वले पार्टीलाई सही गन्तव्यमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नुभयो।
त्यस्तै, काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य सुशील गुरुङले पार्टीभित्र एकता कायम गर्दै संगठनलाई प्रभावकारी बनाउन सके मात्रै नागरिकको विश्वास जित्न सकिने बताउनुभयो। उहाँले नेता तथा कार्यकर्ताबीच आपसी समझदारी र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै गुट–उपगुटभन्दा माथि उठेर पार्टीको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा काँग्रेस रुपन्देहीका जिल्ला सभापति रामकृष्ण खाण, क्षेत्र नम्बर ३ का सभापति पुरनप्रसाद श्रेष्ठ, क्षेत्र नम्बर ३ (क) का सभापति महेन्द्रकुमार श्रेष्ठ, बुटवल उपमहानगरपालिका सभापति ज्योति भण्डारी, तिलोत्तमा नगर सभापति नारायण ढकाल, लुम्बिनी प्रदेशसभा सदस्य तथा काँग्रेस नेता देवीप्रसाद चौधरी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ र सिद्धार्थनगर–७ का सभापति अभिषेक रावललगायतले पार्टीको संगठनात्मक अवस्था र समसामयिक राजनीतिक विषयमा धारणा राख्नुभएको थियो।
वक्ताहरूले बदलिँदो राजनीतिक परिवेशमा काँग्रेसले आफ्नो कार्यशैली सुधार गर्दै नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नुपर्ने बताएका थिए। पार्टी संगठनलाई जनतासँग जोड्न स्थानीय तहमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने तथा नेता–कार्यकर्ताबीच सहकार्य र समन्वय बढाउनुपर्नेमा उनीहरूको जोड थियो।
कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले पनि उद्योगी–व्यवसायीका समस्या समाधान तथा युवा पुस्ताका अपेक्षा सम्बोधन गर्न राजनीतिक दलले प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष ठाकुरकुमार श्रेष्ठ र सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले उद्योगी–व्यवसायी तथा निजी क्षेत्रका समस्या समाधानका लागि राजनीतिक नेतृत्वले सहकार्य गर्नुपर्ने बताउनुभयो।
चाडपर्वको शुभकामना आदानप्रदानका लागि आयोजित कार्यक्रममा पार्टीको एकता, संगठन सुदृढीकरण, नेतृत्व रूपान्तरण र नागरिकसँगको सम्बन्ध विस्तारका विषयले प्राथमिकता पाएका थिए। नेताहरूले पार्टीलाई थप प्रभावकारी बनाउन आन्तरिक मतभेद व्यवस्थापन गर्दै सामूहिक रूपमा अघि बढ्नुपर्ने धारणा राखेका थिए। काँग्रेस सिद्धार्थनगर नगर सभापति देवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति निलु श्रीसले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव धर्मवीर शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
प्रकाशित मिति: २०२६-१०-१६ , समय : २०:०१:२१ , ३ घन्टा अगाडि