भैरहवामा डाण्डीया नाइट तथा भब्य भगवती रात्रि जागरण सम्पन्न

सांस्कृतिक झाँकीले थप्यो रौनक

रुपन्देही खबर , ४३  पटक हेरिएको

भैरहवा ,कार्तिक ५

श्री श्री सार्वजनिक दुर्गा पूजा समिति, सिद्धार्थनगर–५, मैत्रीपथ, अखडा नं. २ को आयोजनामा भैरहवामा डाण्डीया नाइट तथा भव्य भगवती रात्रि जागरण कार्यक्रम सम्पन्न भएको छ । धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र विभिन्न समुदायबीच सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा तीन हजारभन्दा बढी भक्तजन सहभागी भएको आयोजकले जनाएको छ ।

समितिका अध्यक्ष रवि जैसवाल र रिता जैसवालको अध्यक्षता तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले नेपालका विविध धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा सबै समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै एकअर्काको धर्म र आस्थाको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

 

 

सिद्धार्थनगर नगरपालिका–५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले स्थानीयस्तरमा आयोजना हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रमले मौलिक पहिचान संरक्षण गर्न र समुदायबीचको सम्बन्ध सुदृढ बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयले गत वर्ष कार्यक्रमका लागि ३० हजार रुपैयाँ सहयोग गरेको थियो । यस वर्ष सहयोग रकम बढाएर ४० हजार रुपैयाँ उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

यस्तै गरि कार्यक्रममा बोल्दै समितिका अध्यक्ष रवि जैसवालले गत वर्ष आयोजना गरिएको डाण्डीया नाइट तथा भगवती रात्रि जागरण कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको बताउनुभयो । नयाँ पुस्तालाई मौलिक धर्म, संस्कृति र परम्परासँग जोड्ने तथा सांस्कृतिक अभ्यासलाई पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रमका संयोजक दीपेश गुप्ताले स्वागत मन्तव्य रहेको  कार्यक्रममा राष्ट्रिय वैश्य महासंघ नेपाल, रुपन्देहीका अध्यक्ष अमित गुप्ता , सिद्धार्थनगर नगरपालिका–६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तव लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२६-१०-२२ , समय : ०८:१५:४२ , २ घन्टा अगाडि