लुम्बिनी साँस्कृतिक–३ मा घरघरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण

उर्मिला यादव यात्री , ३८  पटक हेरिएको

लुम्बिनी, कात्तिक २०

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–३ ले वडाभित्र रहेका ज्येष्ठ नागरिकलाई लक्षित गरी घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ। ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने बाध्यता कम गर्ने उद्देश्यले वडा कार्यालयले स्वास्थ्यकर्मी परिचालन गरी घरघरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि वितरण गर्दै आएको हो।

वडा अध्यक्ष अकरामुद्दिन नाउँ मुसलमानको पहलमा सञ्चालन भइरहेको उक्त कार्यक्रमअन्तर्गत ६० वर्षमाथिका ज्येष्ठ नागरिकको घरमै पुगेर सुगर, रक्तचापलगायत स्वास्थ्य परीक्षण गर्ने गरिएको छ। स्वास्थ्य परीक्षणपछि आवश्यकताअनुसार निःशुल्क औषधि उपलब्ध गराउनुका साथै थप उपचार आवश्यक पर्ने व्यक्तिलाई स्वास्थ्य संस्थामा बोलाएर सेवा दिने व्यवस्था मिलाइएको छ।

वडाभित्र रहेका ज्येष्ठ नागरिकलाई नियमित स्वास्थ्य सेवाको पहुँचमा ल्याउने, रोगको समयमै पहिचान गर्ने र स्वास्थ्य समस्याका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

वडाध्यक्ष मुसलमानले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने व्यवस्था गरिएको बताउनु भयो । स्वास्थ्य संस्थासम्म जान कठिनाइ हुने ज्येष्ठ नागरिकले आफ्नै घरमा स्वास्थ्यकर्मीबाट सेवा पाउँदा सहज हुने भएकाले कार्यक्रमलाई निरन्तरता दिइएको उहाको भनाइ छ।

लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक तथा संस्थाका प्रमुख सुमन थापाका अनुसार वडा कार्यालयको समन्वयमा गत वर्षदेखि घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन हुँदै आएको छ। कार्यक्रमअन्तर्गत स्वास्थ्यकर्मीले प्रत्येक दुई महिनामा ज्येष्ठ नागरिकको घरमै पुगेर सुगर तथा रक्तचाप परीक्षण गर्ने गरेका छन्। यसअनुसार वर्षमा छ पटकसम्म स्वास्थ्य परीक्षण गर्ने कार्ययोजना बनाइएको छ।

थापाका अनुसार घरदैलोमा पुगेर स्वास्थ्यकर्मीले तत्कालीन रक्तचिनीको मात्रा ९सुगर० र रक्तचाप परीक्षण गर्ने गरेका छन्। यसअघि नै मधुमेह तथा उच्च रक्तचापको औषधि सेवन गरिरहेका ज्येष्ठ नागरिकलाई नियमित औषधि उपलब्ध गराइन्छ। परीक्षणका क्रममा नयाँ स्वास्थ्य समस्या देखिएमा थप परीक्षण तथा उपचारका लागि स्वास्थ्य केन्द्रमा बोलाउने गरिएको छ।

घरमै गरिएको सुगर परीक्षणमा रक्तचिनीको मात्रा २०० भन्दा माथि देखिएमा थप परीक्षणका लागि स्वास्थ्य संस्थामा बोलाउने गरिएको थापाले बताए। त्यसैगरी, रक्तचाप असामान्य देखिएका व्यक्तिलाई नियमित जाँच गराउन, आवश्यक परामर्श लिन र चिकित्सकको सल्लाहअनुसार उपचार गर्न सुझाव दिने गरिएको छ।

स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकलाई खानपान, नियमित औषधि सेवन र स्वस्थ जीवनशैलीका विषयमा परामर्शसमेत दिने गरिएको छ। मधुमेह र उच्च रक्तचापलाई समयमै नियन्त्रण गर्न नसक्दा मिर्गौलालगायत शरीरका महत्त्वपूर्ण अंगमा असर पर्न सक्ने भएकाले नियमित परीक्षण र औषधि सेवनमा ध्यान दिनुपर्ने थापाको भनाइ छ।

कार्यक्रमप्रति ज्येष्ठ नागरिकको प्रतिक्रिया सकारात्मक रहेको स्वास्थ्य केन्द्रले जनाएको छ। स्वास्थ्यकर्मी घरमै पुगेर सुगर, प्रेसर परीक्षण गर्नुका साथै नियमित सेवन गर्ने औषधिसमेत उपलब्ध गराउँदा ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थासम्म धाउनुपर्ने बाध्यता कम भएको थापाले बताउनु भयो ।

यसैगरी, स्वास्थ्य बिमामा आबद्ध नभएका ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने कामसमेत भइरहेको छ। हालै सञ्चालन गरिएको घरदैलो स्वास्थ्य सेवा कार्यक्रमका क्रममा करिब १५ देखि २० जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराइएको थापाले जानकारी दिनु भयो । स्वास्थ्य बिमामा आबद्ध भएपछि उनीहरूले बिमाको व्यवस्थाअनुसार स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन सक्नेछन्।

वडा कार्यालय र स्वास्थ्य केन्द्रको समन्वयमा सञ्चालन भइरहेको यस कार्यक्रमले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था नियमित निगरानी गर्न, रोगको प्रारम्भिक पहिचान गर्न तथा समयमै उपचारका लागि प्रेरित गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। वडा कार्यालयले आगामी दिनमा पनि घरदैलो स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: २०२६-११-०६ , समय : १२:४१:०४ , २१ मिनेटutes अगाडि