भबिष्यको सुरक्षाको लागी श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जानुपर्नेमा जोड

उर्मिला यादव यात्री , २४२  पटक हेरिएको

भैरहवा, माघ १८

सुरक्षित आप्रवासन सामी कार्यक्रम रुपन्देहीले बिहीबार भैरहवामा रोेजगार सेवा केन्द्रसंग सुचना आदानप्रदान, समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रमका प्रदेश कार्यक्रम अधिकृत जियाउल हकले आर्थिक बर्ष २०७९।८० मा बैदेशिक रोजगारीबाट १२ खर्ब ,२० अर्ब, ५६ करोड बिप्रेषण भित्रिएको जानकारी दिनु भएको छ ।

उहाका अनुसार ५६ प्रतिशत भन्दा बढि घरपरिवारमा विप्रेषण प्राप्त भएकोे छ । जुन कुल ग्राहस्थ उत्पादनको करिब २३ प्रतिशत हो । यसले गरिबी न्युनीकरणमा महत्वपुर्ण योगदान पुरयाएको र शिक्षा स्वास्थ्य लगायतको क्षेत्रमा पहुंच बृद्धि हुनुका साथै महिलाको नेतृत्वमा बिकास भएको प्रदेश कार्यक्रम अधिकृत जियाउल हकले बताउनु भयो ।

उहाले आर्थिक बर्ष २०७९,८० मा रुपन्देहीबाट २३ हजार २ सय ५९ जनाले श्रम स्वीकृत लिएको जानकारी दिनु भएको छ । रुपन्देहीमा आर्थिक बर्ष २०८०,८१ पौष मसान्त सम्ममा १० हजार ९ सय ९४ जनाले श्रम स्वीकृत लिएर बैदेशिक रोजगारीमा गएको प्रदेश कार्यक्रम अधिकृत जियाउल हकको भनाइ छ ।

यस्तै गरी श्रम तथा रोजगार कार्यालय बुटवलका शाखा अधिकृत दामोदर ज्ञवालीले श्रम स्वीकृतिको प्रक्रिया बारे जानकारी गराउदै बैदेशिक रोजगारीमा जादा सीपको अभाव, भाषागत समस्या लगायत श्रम स्वीकृति लिएर नजादा बिभिन्न किसिमका समस्याहरु आउने गरेको बताउनु भएको छ । उहाले बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान सुझाव दिनु भएको छ । श्रम तथा रोजगार कार्यालय देशभर ११ वटा रहे पनि श्रम स्वीकृतिका कामहरु ६ वटा कार्यालयबाट भएको जानकारी दिनु भएको छ ।

श्रम स्वीकृति नहुदा कति जना मानिस बैदेशिक रोजगारीमा गए सोको रेकर्ड नहुने भएकोले राज्यको निती निमार्ण गर्दा पनि रेकर्डको लागी श्रम स्वीकृति आवश्यक भएको बताउनु भएको छ ।
श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जादा केही घटना दुर्घटना भएमा वा मृत्यु भएमा बिमा कम्पनीले १० लाख सम्मको बिमा रकमको पैसा फिर्ता गर्ने गरेको ज्ञवालीले बताउनु भएको छ । उहाले भबिष्यको सुरक्षाको लागी पनि श्रम स्वीकृति गरेर मात्र बैदेशिक रोजगारीमा जानुपर्ने बताउनु भएको छ ।

यस्तै गरी कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बैदेशिक रोजगार सम्बन्धी कार्यक्रमहरु पालिका स्तरीय गर्न सुझाव दिनु भएको छ । उहाले बैदेशिक रोजगारीका बिषयमा बिभिन्न किसिमका समस्याहरु पालिकामा समेत आउने गरेको बताउदै यसलाई कसरी सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा हरेक पालिकाले बजेट छुटयाउनुपर्ने बताउनु भएको छ ।

उहाले रेमिटान्स नै नेपालको मुख्य आधार भएकोले बैदेशिक रोजगारीमा जादा यसबारे बुझेर मात्र जान सुझाव दिनु भएको छ । उहाले बैदेशिक रोजगारीका बिषयमा पुर्ण जानकारी नहुदा कति पय ब्यक्तिहरु ठगीन पुगेको बताउनु भएको छ । उहाले बैदेशिक रोजगारीमा जादा पुर्ण ज्ञान लिएर गए मात्र प्रतिफल पनि राम्रो आउने बताउदै श्रम स्वीकृति लिएर बैदेशिक रोजगारीमा जादा केही समस्या परेमा पहल गर्न सहज हुने जोड दिनु भएको छ । उहाले १६ वटै पालिकाबाट आएका रोजगार संयोजकहरुलाई आफना पालिकामा आएका सेवाग्राहीलाई सहज तरिकाले सेवा प्रदान गर्न आग्रह गर्नु भएको छ ।

यस्तै गरी सिद्धार्थनगर नगरपालिकाका अधिकृत कमलकान्त खनालले स्थानिय तहमा श्रम तथा रोजगार सम्बन्धी एकीकृत सेवा प्रवाहका लागी शाखा , उपशाखा बिस्तार सम्बन्धी अनुभव तथा सिकाइका बिषयमा छलफल गर्दै स्थानिय सरकारको जिम्मेवारीका बिषयमा सहजीकरण गर्नु भएको थियो । उहाले रुपन्देहीका १६ वटै पालिका मध्ये केही पालिकाले मात्रै बैदेशिक रोजगारका बिषयमा रोजगार शाखाबाट राम्रो काम गर्दै आएको बताउनु भएको छ ।
कार्यक्रम सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम संचालन सुरक्षित आप्रवासन सामी कार्यक्रमका कार्यक्रम संयोजक सीता पन्थले गर्नु भएको थियो । कार्यक्रममा रुपन्देहीका १६ वटै स्थानिय तहका रोजगार संयोजक, सुरक्षित आप्रवासन सामी कार्यक्रमको सामाजिक परिचालन अधिकृत रुबिता पुलामी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०२-०१ , समय : २०:५५:३१ , २ महिना अगाडि