रबिन्द्र गुप्ता , ४५१ पटक हेरिएको
भैरहवा, असार १
रुपन्देहीको भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालयको उद्घाटन गरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै भैरहवामा वैदेशिक रोजगार कार्यालय स्थापना हुनुपर्ने आवाज उठ्दै आएको थियो ।
बुधबार एक कार्यक्रमकाबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले ऐतिहासिक ठाउँ बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवाका जनताको वर्षौदेखिको सपना पुरा भएको बताए । उनले कार्यालयको सुरुवात भइसकेको र कसरी सफल बनाउन सकिन्छ भन्नेतर्फ लागेको बताए । उनले भने, ‘श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सचिव, सहसचिव, विभागका महानिर्देशकसहित सिंगो टीम लागेर भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालयको उद्घाटन गर्न सफल भएका छौं, अहिले कार्यालयमा शाखा अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा काम सुरु भए पनि उपसचिवको दरबन्दीमा छिट्र्ट नै टीम व्यवस्थापन गर्नेछौं ।’
मन्त्री श्रेष्ठले धेरै भन्दा धेरै श्रमिकलाई बिना झण्झट वैदेशिक रोजगारीमा जान यहीबाट पठाउन सकिने बताए । उनले भैरहवामा शाखा कार्यालय स्थापना भएको र अब अन्य पूर्वाधार, भिसा सेन्टर, मेडिकलको व्यवस्था लगायत हुने गरी लाग्ने बताए । यहाँ आउने पर्यटकलाई राम्रो छुटको व्यवस्था दिन उनले होटल व्यवसायीहरुलाई आग्रह गरे । उनले भने, ‘हुन त सरकारी नीति होइन वैदेशिक रोजगारीमा पठाउने, यो बाध्यता हो, कामदारलाई सकेसम्म नेपालमै रोजगारीको सिर्जना गर्ने, भएन भने वैदेशिक रोजगारमा जाँदा पनि सुरक्षित, मर्यादित र सजिलोसँग जान पाउने व्यवस्था गर्न लागिपरेका छौं । ’
मन्त्री भएर आइसकेपछि गत वैशाख मसान्तसम्म सोझासाझा नेपाली श्रमिकबाट ठगिएको १२ करोड बढी रकम असुली गरिएको उनको भनाइ थियो । उनले भने, ‘यतिले भएको छैन, सन्तुष्ट छैनौं, सबैकुरा एकैपटक नहुँदो रहेछ । उनले सोझासाझा श्रमिकलाई ठगेर विदेश बस्ने दलालमाथि कानूनी कारवाही हुने बताए । ’युवा शक्तिलाई विदेश पठाएर देश विकास गर्न नसकिने मन्त्री श्रेष्ठले बताउ । उनले भने, ‘म जे बोल्छु त्यही गर्छु, गर्न सक्ने मात्र बोल्छु । ’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका सचिव एकनारायण अर्यालले कर्मचारी प्रतिबद्ध भएर काम गर्ने बताए । उनले धेरै सेवाहरु अनलाइनबाट सुरु भइसकेको बताए । अर्यालले म्यानपार व्यवसायीलाई काठमाडौं मात्र केन्द्रीत नभइ शाखाहरु काठमाडौं बाहिर पनि विस्तार गर्न आग्रह गरे । उनले भने, ‘सरकारी जसरी अगाडि बढेको छ, त्यसरी तपाईहरु पनि अगाडी बढ्नुस् । ’सेवा प्रवाह गर्ने क्रममा केही समस्या आउन सक्ने भएकाले कार्यालयलाई सुरक्षा निकाय, प्रशासनको सहयोग आवश्यक रहेको उनले बताए ।
प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले मन्त्री कृष्ण कुमार श्रेष्ठले प्रतिवद्धता जनाउनुभए अनुसार नै काम गर्नुभएको बताए । उनले अब मेडिकल, भिसा सेन्टर लगायतको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य एअरलाइन्सलाई पनि उडानको व्यवस्था हुनुपर्छ । ’लुम्बिनी प्रदेशसभा सदस्य अष्टभुजा पाठकले जनतालाई दुःख नदिई सरल तरिकाले सेवा दिनुपर्ने बताए ।
श्रम, रोजगार तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेशमा सचिव दिपक राज नेपालले भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा स्थापना भएसँगै श्रमिकहरुलाई सेवा पाउन सहज हुने बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले वैदेशिक रोजगार व्यवस्थापन शाखा स्थापना भएसँगै अब बढी भन्दा बढी नागरिकले फाइदा उठाउनुपर्ने बताए । उनले गृहमन्त्री बालकृष्ण खाँण र प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवको पहलमा कार्यालय स्थापना भएको बताए । नगरप्रमुख खाँले भने, सकेसम्म स्वदेशमै काम खोजौं, विदेश जानैपरे सीप सिकेर मात्र जाऔं, सीपबिना विदेश नजाऔं ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भन्ने कुरा सरकार भन्दा पहिला निजी क्षेत्र सिद्धार्थ उद्योग वाणिज्य संघले उठाउँदै आएको कुरा पुरा भएको बताए ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले सरकारले सुविधा दिएमा म्यानपावर कार्यालयहरु खोल्न तयार रहेको बताए ।
प्रकाशित मिति: २०२२-०६-१५ , समय : २३:५४:३८ , २ वर्ष अगाडि