रुपन्देही खबर , ५० पटक हेरिएको
नया पत्रिका कार्यालयमा पत्रकार र प्रहरी ( तस्वीर : पत्रकार यम वमकाे फेसबुकबाट)
काठमाडौं,कार्तिक १४
समाचारको विषय र स्रोतबारे अनुसन्धान गर्ने भन्दै प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारमाथि धरपकड गरेको घटनाको चौतर्फी विरोध भएको छ । प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित विभिन्न राजनीतिक दल, पत्रकार सम्बद्ध संघसंस्था र नागरिक समाजले आपत्ति जनाएका छन् ।
प्रहरीले समाचारको विषयलाई लिएर सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनालाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा हेरिएको छ । यस घटनाले २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता आफ्नो हातमा लिएपछि सञ्चारमाध्यममाथि गरिएको नियन्त्रणको अवस्थालाई स्मरण गराएको भन्दै विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त गरिएको छ ।
विभिन्न पक्षबाट विरोध भएपछि प्रहरीले नियन्त्रणमा लिएका पत्रकारलाई सोधपुछपछि सोही दिन रिहा गरेको छ । केही पत्रकारलाई प्रहरीको साइबर ब्यूरोमा समेत बोलाइएको थियो । त्यहाँ उनीहरूसँग प्रकाशित समाचारको आधार, तथ्य, प्रमाण तथा समाचारको स्रोतबारे सोधपुछ गरिएको जनाइएको छ ।
केही दिनयता बिचौलिया भनिएका इनम सापकोटासँग प्रहरी प्रमुख, प्रधानन्यायाधीश, न्यायाधीश तथा सांसदसम्मको नाम जोडिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित हुँदै आएका थिए । उक्त समाचारको स्रोत पहिचान गर्ने भन्दै प्रहरीले पत्रकारमाथि धरपकड गरेको हो ।
नेपाल पत्रकार महासंघले पत्रकार पक्राउ तथा नियन्त्रणमा लिने प्रयासको निन्दा गर्दै घटनालाई प्रेस स्वतन्त्रताविरोधी कार्यको संज्ञा दिएको छ । महासंघले समाचारको विषयमा चित्त नबुझे कानुनी प्रक्रियाअनुसार समाधान खोज्नुपर्नेमा पत्रकारलाई नै नियन्त्रणमा लिने र समाचारको स्रोत खुलाउन दबाब दिने कार्यले स्वतन्त्र पत्रकारितामाथि असर पार्ने जनाएको छ ।
त्यस्तै, सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी सादा पोसाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले पनि आपत्ति जनाएको छ । काउन्सिलको आकस्मिक बैठकले घटनाबारे चासो व्यक्त गर्दै सञ्चारमाध्यम र पत्रकारको सुरक्षासँग जोडिएको विषयमा ध्यानाकर्षण गराएको छ ।
यसैबीच, सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने आफूहरूलाई घटनाबारे जानकारी नभएको दाबी गरेको छ ।
यसअघि पनि काठमाडौंका तीन प्रमुख सञ्चारगृहका प्रवेशद्वारमा एकै समयमा शंकास्पद गाडी राखेर पत्रकारको आवागमन अवरुद्ध गरिएको घटना सार्वजनिक भएको थियो । करिब साढे तीन महिनाअघि भएको उक्त घटनाले पनि सञ्चारमाध्यमको सुरक्षा र पत्रकारको निर्बाध काम गर्ने वातावरणमाथि प्रश्न उठाएको थियो ।
प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारभूत मान्यतामध्ये एक हो । समाचारको विषयमा अनुसन्धान आवश्यक भए पनि त्यसका नाममा पत्रकारलाई डर, दबाब वा नियन्त्रणमा राख्ने प्रयासले स्वतन्त्र र निष्पक्ष पत्रकारिताको अभ्यासमा चुनौती थप्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
प्रकाशित मिति: २०२६-१०-३१ , समय : ०९:५३:४४ , १ घन्टा अगाडि