रुपन्देही खबर , ३४ पटक हेरिएको
परासी,कार्तिक १३
रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले नगरवासीलाई सही सूचना प्रदान गर्न र स्थानीय सरकारले गरेका कामबारे नागरिकलाई सुसूचित गराउन पत्रकारहरूले कलम चलाउनुपर्ने बताउनुभएको छ ।रामग्राम नगरपालिकामा बिहीबारदेखि सुरु भएको पत्रकारिता सम्बन्धी क्षमता विकास तालिमको उद्घाटन गर्दै नगर प्रमुख यादवले सामाजिक सञ्जालमा फेक आइडी बनाएर फैलाइने गलत तथा भ्रमपूर्ण गतिविधिलाई चिर्न पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले नगरपालिकाले विभिन्न क्षेत्रमा गरेका राम्रा काम, प्रवाह गरेका सेवा तथा सम्पन्न गरेका विकास निर्माणका गतिविधिलाई नागरिकसम्म पु¥याउन सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारले गरेका कामबारे नागरिकलाई विश्वसनीय सूचना उपलब्ध गराउन र आधिकारिक सञ्चारमाध्यमप्रति विश्वासको वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।
पत्रकारहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै गलत र भ्रमपूर्ण सूचनाको तथ्य जाँच गरेर मात्र समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिँदै नगर प्रमुख यादवले ‘चारपटक बुझेर एकपटक प्रकाशन गर्ने’ अभ्यास अपनाउन आग्रह गर्नुभयो ।
सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जका अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले स्थानीय सरकारको प्रयासले मात्र विकासका लक्ष्य हासिल गर्न नसकिने बताउनुभयो । उहाँले नगरभित्रका विभिन्न संघसंस्थाको साथ र सहयोगबाट मात्रै पालिकाले निर्धारण गरेका उद्देश्य प्राप्त गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
तालिमको उद्घाटन समारोहमा नेपाल पत्रकार महासङ्घ नवलपरासीका कार्यवाहक अध्यक्ष विकास अधिकारी, सामुदायिक रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा लुम्बिनी दैनिकका सम्पादक शेरबहादुर केसीले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणमा जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत १५ जना पत्रकारहरुको सहभागीता रहेको छ ।
तीन दिनसम्म चल्ने तालिममा फिचर लेखन, विकास पत्रकारीता र पत्रकारहरुको लेखन क्षमता अभिबृद्धिका विषयबस्तुमाथि अभ्यास गरिने प्रशिक्षक केसीले बताउनु भयो । तालिम कार्यक्रम सामुदायिक रेडियो परासीको आयोजना र रामग्राम नगरपालिकाको सहयोगमा सञ्चालन हुनेछ ।
प्रकाशित मिति: २०२६-१०-३० , समय : ०९:३४:४५ , ५३ मिनेटutes अगाडि