उर्मिला यादव यात्री , ५४ पटक हेरिएको
भैरहवा, भदौ २१
तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ रुपन्देहीमा पनि मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवस मनाइएको छ । दिवसको अवसरमा बिहीबार भैरहवामा परिसंवाद कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय भैरहवा रुपन्देहीको आयोजना तथा माइती नेपाल भैरहवा रुपन्देहीको सहआयोजनामा भएको परिसंवाद कार्यक्रममा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागी काम गर्दैै आएका बिभिन्न संघसंस्था तथा स्थानिय तह लगायत सरोकारवाला ब्यक्तित्वहरुको सहभागितामा परिसंवाद कार्यक्रम गरिएको हो ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितीका अध्यक्ष तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा भएको परिवाद कार्यक्रमकमा सिडियो अर्यालले कुनै पनि ब्यक्तिको बारेमा तथ्य र तथ्यांकको जिम्मेवारी लिएको स्थानिय सरकारले आफनो पालिका भित्रका कति मानिस बैदेशिक रोजगारीमा गए,कति सुरक्षित रोजगारीमा छन, आफनो पालिकाका कति मानिस बैदेशिक रोजगारीका क्रममा शोषणमा परेका छन सो बारेमा तथ्यांक राख्नु पर्ने बताउनु भएको छ ।
उहाले जहा बढी संरचना छ त्यही बढी नै अमानवीय कामहरुले बर्चस्व कायम गरेकोले पालिकाले आफनो क्षेत्रमा के भैरहेको छ सो बारे निगरानी राख्नुपर्ने बताउनु भएको छ । उहाले मानव बेचबिखन बिरुद्धमा बिभिन्न संघसंस्थाहरु काम गर्दै आए पनि स्थानिय तह संग समन्वय नभएकोले यसलाई सुधार गर्न निर्देशन समेत दिनु भएको छ । लुम्बिनी प्रदेशकै बिकसित जिल्लाको रुपमा रुपन्देही जिल्ला भए पनि अझै पनि ग्रामिण भेगमा दयनीय अवस्था रहेको बताउनु भएको छ । उहाले मानव बेचबिखन बिरुद्ध काम गर्दै आएका संघ संस्थाहरुलाई सक्रियता साथ काम गर्न आग्रह गर्नु भएको छ । नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकहरुमा घरेलु कामदारका रुपमा जाने क्रममा अधिकांश महिलाहरु बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरीहरु समेत मानव बेचबिखनका दृष्टिले बढी जोखिममा रहेको बताउदै अर्यालले बालबालिका र किशोरीहरुको बढ्दो बेचबिखन न्यूनीकरण गर्नका लागी मानव बेचबिखन नियन्त्रणका लागी काम गर्दै आएका संघसंस्थाहरुलाई बिभिन्न किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रन्जित सिंह राठोरले पछिल्लो समय मानव बेचबिखनको स्वरुप नै परिर्वतन भएको बताउनु भएको छ । उहाले रोजगारीको बहाना, डान्स बार , प्रेम बिवाह लगायतका बहनामा भारततिर लगेर आफनै मानिसहरुले बेचेको घटनाहरु जिल्लामा आएको बताउनु भएको छ । उहाले मानव बेचबिखनमा परेका महिला तथा बालबालिकाहरुले सम्बन्धित निकायमा जाहेरी नदिदा समस्या सिर्जना भएको बताउनु भएको छ । उहाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी जिप्रका रुपन्देहीले बिभिन्न बिद्यालय , गाउ समाजमा बिभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम गर्दै आएको बताउनु भएको छ । उहाले यसलाई रोक्नका लागी सबै मिलेर सिमानाका लगायत स्थानिय बजारमा हरेका होटलहरुमा अनुगमन गर्नुपर्ने बताउनु भयो ।
यस्तै गरी शसस्त्र प्रहरी उपरीक्षक आनन्द थापाले शसस्त्र प्रहरी बलले मानव बेचबिखनको सन्र्दभमा बोर्डरमा खटिएकोले अग्र पंक्तिमा रहेर काम गर्दै आएको बताउनु भएको छ । बोर्डरमा शंकास्पद लागेका र देखिएका कुराहरुका बारेमा प्रत्यक्ष रुपमा सोधपुछ गर्दा शंका लागेमा सम्बन्धित निकाय संग समन्वय गरी उद्धार गर्दै आएको बताउनु भयो । उहाले शसस्त्र प्रहरी बोर्डरमै भएकोले गर्दा मानव बेचबिखन रोकथामका लागी यसमा सहकार्य गर्दै आएको र आफुहरुले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनु भयो । उहाले सामाजिक संजालको अधिकतम प्रयोगले समेत कति पय मानिसको जालमा परी लोभलालच र सुखमय जिवनयापनका लागी पनि मानिसहरु फेसबुक मार्फत फस्दै गएको बताउनु भएको छ ।
यस्तै गरी माइती नेपाल भैरहवा रुपन्देहीको प्रमुख माया क्षेत्रीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आर्थिक बर्ष २०७८।७९ मा ५ वटा मानव बेचबिखनका मुद्धा दर्ता भएको बताउनु भएको छ भने आ.ब.२०७९।८० मा ७ र आ.ब. २०८०।८१ मा ५ वटा मुद्धा दर्ता भएको जानकारी दिनु भएको छ । यस्तै गरी माइती नेपाल रुपन्देहीले आ.ब २०८०।८१ मा ११ जनालाई भारतको बिभिन्न ठाउबाट उद्धार गरेको छ । बोर्डरबाट १७४, र ६०९१ जनालाई परार्मश गरिएको जनाएको छ । खोजतलासको निवेदन २१ , घरेलु हिंसाको १० वटा निवेदन परेको जानकारी दिनु भएको छ ।
यस्तै गरी शान्ति पुनस्थापना गृह सिनपा १ बेलहिया रुपन्देहीले आर्थिक बर्ष २०७९।८० मा सीमाबाट ७० , भारतबाट २ जनालाई उद्धार गरेको छ भने मानव बेचबिखन तथा ओसारपसार १ र जबरजस्ती करणी १ गरी २ वटा मुद्धा समेत दर्ता गराएको छ । यस्तै गरी गृहले आ.ब. २०८०।८१ मा सीमानाकाबाट २७०, र भारतबाट ३ जनालाई उद्धार गरेको छ जसमा २ वटा मुद्धाहरु समेत दर्ता गरिएको छ ।
यस्तै आफन्त नेपालले सिमानाकाबाट १७२जनालाई उद्धार गरेको छ भने ४ वटा मानव बेचबिखन सम्बन्धी मुद्धा दर्ता गरेको छ । मानव बेचबिखन तथा ओसार पसार समस्यामा १८ देखी २५ बर्ष उमेर समुहका बढी रहेको पाइएको छ । सामान्य लेखपढ तथा प्राथमिक शिक्षा मात्र हासिल गरेकाहरु बढी मात्रामा पाइएको क्षेत्रीले बताउनु भयो । कार्यक्रमको सहजीकरण गर्दै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण हुन नसक्नुको मुख्य कारण नै जनचेतनाको अभाव रहेको बताउनु भएको छ । उहाले लैंगिक बिभेद, घरेलु हिंसा, रोजगारीको अभाव, बसाइसराई र अबैध ओसापसार , खुला सिमाना धार्मिक तथा सामाजिक कुरीतीहरु लगायतका कारण मानव बेचबिखन तथा ओसारपसारमा नियन्त्रण गर्न नसकिएको बताउनु भएको छ । उहाले मानव बेचबिखनको जोखिममा रहेका नागरिकहरुको तथ्यांकको अभाव रहेको बताउनु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा मात्रै ८ वटा संघसंस्थाहरुले सिमा क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी काम गर्दै आएका छन । कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी , जिप्रका रुपन्देहीको प्रहरी नायब उपरीक्षक लक्ष्मी खनाल, शान्ति पुनस्थार्पना गृह सिनपा १ बेलहियाका प्रमुख नितेश चौधरी, आफन्त नेपालका शाखा प्रमुख पदमा आचार्य, सामी कार्यक्रम संयोजक सीता पन्थ, थ्री एन्जल्स नेपालको भैरहवा शाखा प्रमुख कल्पना कडायत १६ वटै पालिकाका महिला तथा बालबालिका शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
यस्तै गरी यस्तै गरी मानव बेचबिखन बिरुद्धको १८औं राष्ट्रिय दिवसको अवसरमा शान्ति पुनस्थार्पना गृह सिनपा १ बेलहिया रुपन्देहीले बेलहिया सिमानाकामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
यस्तै गरी रुपन्देहीको सिद्धार्थनगरमा रहेर मानव बेचबिखन तथा ओसारपसार न्युनीकरणका लागी काम गर्दै आएका बिभिन्न संघसंस्थाहरुले बिद्यालयस्तरीय जनचेतनामुलक कार्यक्रम गरेका छन भने सिमानाका बेलहियामा पर्चापम्पलेट बितरण गरी यसबारे जानकारी गराएको शान्ति पुनस्थार्पना गृह सिनपा १ बेलहियाका प्रमुख नितेश चौधरीले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-०९-०६ , समय : १३:३६:४१ , १ महिना अगाडि