लुम्बिनी प्रदेश सरकारको १६ करोडको लागतमा बनिरहेको रिफ्रेस सेन्टर निर्माणमा रोक

प्रकाश न्यौपाने , ६६०  पटक हेरिएको

बर्दघाट , असार १३

 

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा निर्माण भइरहेको रिफ्रेस सेन्टरमा गुणस्तरहीन सामाग्री प्रयोग भएको पाइएपछि बर्दघाट नगरपालिकाले निर्माण कार्यमा रोक लगाएको छ ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको नेतृत्वमा रहेको टोलिले अनुगमनका क्रममा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग भएको पाइएको हो । प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको रिफ्रेस सेन्टरमा कमसल ईट्टा प्रयोग भएको र मापदण्ड विपरित निर्माण भएको स्थानीयको गुनासो पछि नगर प्रमुख शम्भुलाल श्रेष्ठ ,उप प्रमुख तथा अनुगमन समिति संयोजक रुद्र प्रकाश उपाध्याय सहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनको क्रममा गुणस्तरहिन निर्माण सामाग्रीको काम भइरहेको पाइएकोले कामदारहरुलाई काम रोक्न नगर प्रमुख र उपप्रमुख दुबैले निर्देशन दिनु भएको छ । रिफ्रेस सेन्टर निर्माणमा गुणस्तरहिन सामाग्रीको प्रयोग भएको पाएपछी नगरप्रमुख श्रेष्ठले निर्माण पक्ष ( ठेकेदार)लाई फोन समेत गर्दै निर्माण कार्य रोक्न निर्देशन दिनु भयो । नगर प्रमुख श्रेष्ठका अनुसार रिफ्रेस सेन्टर निर्माण प्रयोग भएका सामाग्री गुणस्तरहिन देखिएकोले हाललाई निर्माण कार्यमा रोक लगाइएको हो ।

 

अनुगमन पछि उपप्रमुख उपाध्यायले निर्माणको केहि भागमा पहिलो नम्बरको ईट्टा प्रयोग र केहि भागमा गुणस्तरहिन इट्टाको प्रयोग भएको पाइएको छ । निर्माण स्थलको अनुगमन गर्दा वाल चर्केको गुणस्तरहिन इट्टा निर्माण स्थलमा नै राखिएको देखिएकाले तत्कालका लागि निर्माण कार्यमा रोक लगाइएको बताउनु भयो । रिफ्रेस सेन्टर लुम्बिनी प्रदेश सरकारको १६ करोडको लागतमा बन्न लागेको हो ।

प्रकाशित मिति: २०२२-०६-२७ , समय : १३:०१:४८ , २ वर्ष अगाडि