उर्मिला यादव , २४६ पटक हेरिएको

परासी, माघ १४
पश्चिम नवलपरासीमा १६ हजार २ सय ९३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एच.पि.भी.) खोप लगाइदै छ । एच.पि.भी. खोप अभियान–२०८१ अन्तर्गत नवलपरासीमा माघ २२ गतेदेखि २८ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले जानकारी दिनु भएको छ ।
उहाले कक्षा ६ देखी १० सम्मका छात्राहरु र बिद्यालय नजाने १० बर्षदेखी १४ बर्ष उमेर समुहका किशोरीहरु नछुट्ने गरी खोप अभियान सञ्चालन गरिने दावी गर्नु भएको छ । जिल्लामा रहेका २ सय बिद्यालयमा खोप केन्द्र संचालन गरी बिद्यालयका छात्राहरु १५ हजार, ६ सय ६९ जना र बिद्यालय नजाने ६ सय २४ जना किशोरीहरुलाई एच.पि.भी.खोप लगाइदै छ ।जसमा सुनवलको देवकोटा माविमा धेरै विद्यार्थी भएकाले दुई वटा खोप केन्द्र संञ्चालन गरिने छ भने अन्य विद्यालयमा एउटा खोप केन्द्र संञ्चालन गरेर एक हप्ता भित्रमा सक्ने गरी खोप लगाईने ढकालले बताउनुभयो ।खोप लगाउन छुटेका किशोरीहरुलाई अन्तिम दिन स्वास्थ्य संघसंस्थाबाट खोप लगाइनेछ ।
एच.पि.भी. खोप अभियान–२०८१ अन्तर्गत नवलपरासीमा दुई सय ५ जना खोप स्वास्थ्य कार्यकर्ता, तीन सय ८ जना स्वयमसेवक, स्थानिय पर्यवेक्षक ७४, जिल्ला पर्यवेक्षक ८ र पालिका पर्यवेक्षक ७ जनालाई खटाइने ढकालले बताउनु भयो । जसका लागी विद्यलायका प्रधानाध्यापक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायत संग अभिमुखिकरण गर्ने काम सम्पन्न भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । पालिका स्तरीय र वडा स्तरीय खोप समन्वय समिति मार्फत कोहि पनि खोप अभियानमा नछुटुन् भन्ने उदेश्यले प्रचारप्रसार भईरहेको र सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविका घर घरमा पुगेर समेत खोप अभियानमा छुटेका किशोरीहरुलाई सामेल गराउने गरी तयारी भईरहेको स्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।
यस्तै गरी जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक भगौती यादवले एच.पि.भी.खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनु भएको छ । नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले खोपबारे अभिभावकलाई सचेतना प्रदान गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले नेपाल सरकारले देशव्यापी रुपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिरहेको बताउदै यो अभियानका लक्षित वर्गलाई नछुटाउन सम्पुर्ण क्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले सबै वर्र्ग र समुदायले यो अभियानलाई सफल बनाउन आग्रह गर्नु भएको छ ।
एच.पि भि.खोप अभियान २०८१ अन्र्तगत जिल्ला स्तरीय खोप समन्वय समितीका पदाधिकारीहरुको लागी अभिमुखीकरण तथा पत्रकार एवम संचारकर्मीहरु बिच परासीमा भएको अन्तरक्रिया गोष्ठीमा नेपाल रेडक्रस सोसाईटी नवलपरासीका सभापती राजेन्द्र अग्रहरी, नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष केशव पराजुली लगायतले खोप अभियानका विषयमा आ आफनो भनाई राख्नु भएको थियो ।
पाठेघरको मुखको क्यान्सर विरुद्ध ०.५ मि.लि खोप सुईको माध्यमबाट किशोरीहरुको बाँया पाखुराको माथिल्लो बिच बाहिरी भागमा मासुभित्र लगाईन्छ । खोपले कसैकसैलाई सामान्य ज्वरो आउने, टाउको दुख्ने हुन सक्ने भएपनि अन्य समस्या नदेखिने बताईएको छ ।
एच.पि.भी.संक्रमण भएको सुरुको अवस्थामा कुनै लक्षण, चिन्हहरु देखिदैन । पाठेघरको मुखको क्यान्सर भएको अवस्थामा यौन सम्पर्क पछि योनीबाट रगत आउने, तल्लो पेट दुख्ने, गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महसुस हुने जस्ता लक्षणहरु देखिने गर्दछ ।
नेपालमा हरेक बर्ष २ हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुमान गरिएको छ भने हरेक बर्ष १ हजार ३ सय ९३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ । जस अनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर बाट मृत्यु हुन्छ । महिलाहरुमा हुने क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ भने क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण रहेको बताइएको छ ।
प्रकाशित मिति: २०२५-०१-२७ , समय : ११:३२:१९ , ३ महिना अगाडि