यु.सि.यम.यस.भैरहवामा प्रोक्टोलोजीमा‘लेजर शल्यक्रिया’ सेवा सुचारु

रुपन्देही खबर , १०५  पटक हेरिएको

भैरहवा, कार्तिक २६

रुपन्देहीमा क्षेत्रमा नै पहिलो पटक यु.सि.यम.यस. शिक्षण अस्पताल, भैरहवामा प्रोक्टोलोजी (Proctology) क्षेत्रमा अत्याधुनिक लेजर प्रविधिबाट शल्यक्रिया सेवा सुचारु भएको छ । देवदह नगरपालिका वडा नं. १२ बस्ने वर्ष २१ को प्रविण हरिजनको यस प्रविधिबाट शल्यक्रिया गरिएको हो । हाल विरामीको अवस्था सन्तोषजनक रहेको र अस्पतालबाट डिस्चार्ज समेत भएको छ । यो शल्यक्रिया अस्पतालका शल्यक्रिया विभागका एसोसियट प्रोफेसर डा.सन्तोष मिश्र, डा.सन्देश खड्का, डा.समी कुमार शाह, एनेस्थसिया विभागका प्रमुख तथा प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, डा.विजय यादव, नर्सिङ्ग स्टाफ शान्ति थापा सिन्जाली लगायतका टोलीले सम्पन्न गरेको थियो ।

अब अस्पतालमा विरामीहरुलाई पाइल्स (Hemorrhoid), पाइलोनाइडल साइनस (Pilonidal Sinus), एनल फिसर (Anal Fissure) र फिस्टुला (Fistula) जस्ता रोगहरुको उपचार समेत लेजर प्रविधिबाट गर्न सकिने डा. मिश्रले बताउनु भएको छ । डा. मिश्रका अनुसार लेजर शल्यक्रिया परम्परागत (ओपन) शल्यक्रियाको तुलनामा विरामीलाई धैरे फाइदाजनक रहेको छ । यस प्रविधिबाट गरिने शल्यक्रियामा रगत कम खेर जाने, संक्रमण दर न्युन रहने, विरामीलाई अस्पतालको बसाई अवधि एकदमै छोटो हुने र सफलता दर उच्च रहने विशेषता रहेको छ । साथै विरामी चाँडो नै आफ्नो सामान्य जीवनशैलीमा फर्किन सक्ने र उपचारपछि हुने पीडा पनि न्युन हुनेछ ।

यो सेवा सुरु भएपश्चात् रुपन्देही मात्र नभई आसपासका जिल्लाहरुका विरामीहरुले समेत आधुनिक, सुरक्षित र प्रभावकारी शल्यक्रिया उपचार प्राप्त गर्न थप सहज हुने अस्पतालले अपेक्षा लिएको छ ।

प्रकाशित मिति: २०२५-११-१२ , समय : १८:५९:०४ , ४ घन्टा अगाडि