रुपन्देहीमा ३ लाख ४३ हजारको भन्सार छलीका सामान बरामद

रुपन्देही खबर , ३८  पटक हेरिएको

भैरहवा, असोज २०

रुपन्देही प्रहरीले विभिन्न स्थानबाट भन्सार छली गरी चोरी पैठारी गरिएको करिब ३ लाख ४३ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंगलबार जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ३ लाख ४३ हजार ९३४ रुपैयाँ बराबरका सामान बरामद गरेको हो।

प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित सानो ओडवलियाबाट २ लाख २८ हजार ४ सय रुपैयाँ बराबरका १९६ पिस माला र १०८ पिस चकलेट मस्क पर्फ्युम आयल बरामद गरिएको छ।

त्यस्तै, सिद्धार्थनगर नगरपालिका–१३ स्थित हाटबजारबाट ४३ हजार ५३४ रुपैयाँ बराबरका जिम हाउसमा प्रयोग हुने १३ डिब्बा स्किन रेडियन्स कोलाजेन, ४ डिब्बा ‘अनलक टु राइज अबभ द अर्डिनरी’ र ५ प्याकेट एटम ह्वे प्रोटिन बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, ओमसतिया गाउँपालिका–१ स्थित कटैयाबाट ७२ हजार रुपैयाँ बराबरका १८ थान बादशाह सुगन्धित पान मसलाका कभर रोल बरामद गरिएको छ। बरामद सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति: २०२६-१०-०६ , समय : २१:२६:५५ , १ घन्टा अगाडि