rupandehi khabar , २७ पटक हेरिएको
भैरहवा, मंसिर ६
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका विभिन्न स्थानमा आगो लगाएर धुवाँ उत्सर्जन गरी वातावरण प्रदूषण गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी आगो लगाई धुवाँ फैलाएको तथा आगलागीबाट धनजनको क्षति हुन सक्ने जोखिम बढाएको आरोपमा उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–३ पडरियाका ३५ वर्षीय इमताज अहमद र ३४ वर्षीय रमेश चमार, वडा नम्बर ६ पर्साका २५ वर्षीय मोहमद इर्फान फकिर, वडा नम्बर ८ एकलाका ५० वर्षीय राधेश्याम यादव तथा वडा नम्बर ६ तर्कुल्लाहका ४३ वर्षीय राजेश गुप्ता रहेका छन् । प्रहरीले उनीहरूलाई वातावरण प्रदूषण हुने गरी आगो लगाएको आरोपमा नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
आगो लगाउँदा निस्कने धुवाँले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै आगलागीबाट जनधनको क्षति हुन सक्ने भएकाले यस्ता गतिविधि नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । प्रचलित कानुनविपरीत वातावरण प्रदूषण तथा धनजनको क्षति हुने गतिविधि गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२६-११-२२ , समय : १३:०६:५६ , १८ मिनेटutes अगाडि