rupandehi khabar , २६ पटक हेरिएको
भैरहवा, मंसिर ३
रुपन्देही प्रहरीले भन्सार छली गरी अवैध रूपमा चोरी पैठारी गरिएका करिब ४५ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मंसिर २ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–२ स्थित लम्तिहवाबाट ३३ हजार रुपैयाँ बराबरका नौ थान साडी र २४० मिटर काँचो कपडा बरामद गरिएको छ ।
त्यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालीदहबाट १२ हजार रुपैयाँ बराबरका ३० किलोग्राम ब्रोइलर कुखुरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
बरामद गरिएका सामानको कुल अनुमानित मूल्य ४५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०२६-११-१९ , समय : ०९:५०:४६ , १६ मिनेटutes अगाडि