रुपन्देहीमा १८ वर्ष पुरानो हत्या घटनाका दुई आरोपी पक्राउ

रुपन्देही खबर , ६५  पटक हेरिएको

भैरहवा, असोज २२

रुपन्देहीमा १८ वर्षअघि गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रोहिणी  गाउँपालिका–४ का ६८ वर्षीय प्रल्हाद कुर्मी र सोही स्थानका ६० वर्षीय महेन्द्र प्रसाद कुर्मी रहेका छन्।

प्रहरीका अनुसार २०६५ साल मंसिर ६ गते राति करिब १२ः३० बजे साविक धकधई गाविस–८, हाल रोहिणी गाउँपालिका–३ झुङ्गापरासीस्थित हुलाकी सडकखण्डमा साविक छिपागढ गाविस–६, हाल रोहिणी गाउँपालिका–४ निवासी ३२ वर्षीय चिनक राजभर भनिने मुनिराम राजभरको हत्या भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार राजभरको हात पछाडि गलबन्दीले बाँधिएको अवस्थामा कन्चटमा गोली प्रहार गरी हत्या गरिएको थियो। घटनापछि संलग्न व्यक्तिहरू फरार रहेको र लामो समयपछि घटनाको अनुसन्धानलाई अघि बढाउँदै प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले असोज २१ गते रुपन्देहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई असोज २२ गते रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ। घटनामा उनीहरूको संलग्नता, हत्याको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति: २०२६-१०-०८ , समय : २२:३१:३६ , १ घन्टा अगाडि