सीमा विवाद, नागरिकता र भूमि अधिकारको समस्याले सुस्तावासी पीडित, समाधानका लागि राज्यसँग गुहार

उर्मिला यादव यात्री , २६  पटक हेरिएको

सुस्ता, मंसिर ८

सुस्तामा बसोबास गर्दै आएका नागरिकले वर्षौंदेखि सीमा अतिक्रमण, नागरिकता प्राप्ति, भूमि अधिकार, नारायणी नदीको कटान र सुरक्षासम्बन्धी समस्या भोग्दै आएका छन् । नेपाल–भारत सीमाको स्पष्ट पहिचान नहुँदा, नागरिकता प्राप्तिमा जटिलता रहँदा र नदी कटानले खेतीयोग्य जमिन बगाउँदा स्थानीयको बसोबास तथा जीविकोपार्जन प्रभावित बनेको छ । यी समस्या समाधानका लागि राज्यले गम्भीर पहल गर्नुपर्ने माग सुस्तावासीले गरेका छन् ।

सुस्तामा आयोजित नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठकका क्रममा स्थानीयवासीसँग गरिएको संवादमा सुस्ताका समस्या र उनीहरूले वर्षौंदेखि भोग्दै आएका पीडा सार्वजनिक भएका हुन् । सुस्ता बचाउ अभियानका संयोजक आदम खाँदेखि स्थानीय कयलान हरिजन र ७२ वर्षीय चन्द्रिका कुर्मीसम्मले सीमा विवाद, नागरिकता र भूमि अधिकारका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सुस्ता बचाउ अभियानका संयोजक आदम खाँले सुस्ताको समस्या केवल सीमा विवादमा मात्र सीमित नभई स्थानीय नागरिकको नागरिकता, भूमि अधिकार, बसोबास र जीविकोपार्जनसँग समेत जोडिएको बताउनुभयो । लामो समयदेखि सुस्तामा बसोबास गर्दै आएका कतिपय नागरिकले अझै नागरिकता र आफूले जोतभोग गर्दै आएको जग्गाको स्वामित्व प्राप्त गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।
सुस्ता क्षेत्रको जानकारी दिँदै सुस्ता बचाउ अभियानका संयोजक आदम खाँले सुस्तामा कुल ४ हजार ९८० हेक्टर नेपाली भूभाग रहेको बताउनुभयो । जसमध्ये १४ हजार ५ सय हेक्टर भूमि भारतले अतिक्रमण गरेको र लालपुर्जा भएको १९ हजार ४८० हेक्टर जग्गा भारतीय पक्षले विवाद निकालेर अवरोध गरेपछि अहिलेसम्म पनि उक्त जग्गा स्थानीयले भोगचलन गर्न पाएका छैनन् । सुस्तावासीले जम्मा ७ हजार हेक्टर मात्र जोतभोग गर्दै आएको खाँले बताउनुभयो .

सुस्ता क्षेत्रलाई नदी कटान र डुबानबाट जोगाउन गत चैतदेखि नारायणी नदी किनारको एक किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण कार्य भएको छ । तर उक्त संरचनाले मात्र सुस्ता क्षेत्रलाई जोगाउन नसक्ने भएपछि दुई महिनाअघि सोही क्षेत्रबाट सुरु गरिएको थप १३२ मिटर क्षेत्रमा तटबन्ध भारतीय एसएबीले अवरोध गरेको छ ।

उक्त तटबन्ध नबन्दा महिनादिन अघि आएको बाढीले सुस्ताको थारुटोलासहित अन्य टोल डुबानमा परेर स्थानीय विस्थापित भएका थिए । सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित सुस्ता गाउँमा करिब ४ सय घरपरिवारको बसोबास छ ।
विगतमा खेतीयोग्य जमिन विकास गर्न स्थानीयलाई जंगल क्षेत्रमा पठाइएको थियो । स्थानीयले मेहनत गरेर जंगल फँडानी गरी जमिनलाई खेतीयोग्य बनाए पनि पछि नागरिकता नहुँदा त्यही जमिनको कानुनी स्वामित्व प्राप्त गर्न समस्या भएको उहाँले बताउनुभयो ।

उहाँले सुस्तामा भारतीय पक्षबाट पटक–पटक दबाब र हस्तक्षेप हुने गरेको प्रसंग उल्लेख गर्दै सीमा क्षेत्रमा खटिएका भारतीय सुरक्षाकर्मीको गतिविधिका कारण स्थानीय बासिन्दाले असुरक्षा महसुस गर्नुपरेको बताउनुभयो । सीमा विवादका कारण स्थानीयको खेतीपाती, आवतजावत र दैनिक जनजीवनसमेत प्रभावित हुने गरेको उहाँको भनाइ थियो ।

विगतमा सुस्तामा भएका गोली प्रहारका घटनासमेत स्मरण गर्दै खाँले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा र अधिकार सुनिश्चित गर्न नेपाल सरकारले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिनुभयो । सुस्तावासीले आफ्नो भूमि, पहिचान र अस्तित्व जोगाउन लामो समयदेखि संघर्ष गर्दै आएको उल्लेख गर्दै उहाँले सीमा समस्यालाई राजनीतिक स्वार्थसँग जोड्न नहुने धारणा राख्नुभयो ।

सुस्ताको वास्तविक अवस्था र स्थानीयले भोगिरहेको पीडालाई राष्ट्रिय बहसको विषय बनाउनुपर्ने बताउँदै खाँले सञ्चारमाध्यमले सीमा क्षेत्रका नागरिकको अवस्था, भूमि अतिक्रमण र नागरिक अधिकारका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने आग्रह गर्नुभयो ।

त्यस्तै, सुस्ताका ५२ वर्षीय कयलान हरिजनले सीमा क्षेत्रमा पर्याप्त सीमा स्तम्भ नहुँदा नेपाली भूमि र भारतीय भूमिको स्पष्ट पहिचान गर्न कठिनाइ भइरहेको बताउनुभयो । आफूहरूले वर्षौंदेखि जोतभोग गर्दै आएको जमिनको समेत स्पष्ट सीमाङ्कन नहुँदा स्थानीय अन्योलमा परेको उहाँको भनाइ छ ।

सीमा स्तम्भ स्थापना गरी नेपाल–भारत सीमाको स्पष्ट पहिचान गराउनुपर्ने माग गर्दै हरिजनले भन्नुभयो, “हामीले वर्षौंदेखि जोतभोग गर्दै आएको जमिन कहाँसम्म नेपाल हो र कहाँबाट भारत सुरु हुन्छ भन्ने स्पष्ट हुन सकेको छैन । सरकारले सीमा स्तम्भ गाडेर हाम्रो भूमि छुट्याइदिनुपर्छ ।”

हरिजनका अनुसार सुस्तामा अझै धेरै नागरिक नागरिकताबाट वञ्चित छन् । नागरिकता नहुँदा सरकारी सेवा सुविधा प्राप्त गर्न तथा दैनिक जीवनका विभिन्न प्रशासनिक काम गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो ।

सुस्तावासीको अर्को प्रमुख समस्या नारायणी नदीको कटान रहेको हरिजनले उल्लेख गर्नुभयो । नदी कटानका कारण खेतीयोग्य जमिन बगाउनुका साथै उखु र धानबालीमा समेत क्षति पुग्ने गरेको उहाँको भनाइ छ । प्रभावकारी तटबन्ध निर्माण हुन नसक्दा स्थानीयले बर्सेनि जमिन र कृषि उत्पादन गुमाउनुपरेको उहाँले बताउनुभयो ।

सीमावर्ती क्षेत्रमा दैनिक उपभोग्य सामग्री खरिद गर्नसमेत स्थानीयलाई सहज नभएको उहाँले उल्लेख गर्नुभयो । भारतीय बजार बिहारतर्फ सामान खरिद गर्न जाँदा कतिपय अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आवतजावतमा रोकटोक गर्ने गरेको उहाँको भनाइ छ । त्यसैले स्थानीयले बहुवार बजारलगायत भारतीय बजार तथा नेपालतर्फका रानीनगर, हरवा र बेलाटाडीलगायत क्षेत्रबाट दैनिक उपभोग्य सामग्री ल्याउने गरेको उहाँले जानकारी दिनुभयो ।

हरिजनले सीमा क्षेत्रमा हुने विवाद र झडपका कारण स्थानीय बासिन्दाले असुरक्षा महसुस गर्नुपरेको बताउँदै सीमा व्यवस्थापन, नदी नियन्त्रण र नेपाली भूमिको संरक्षणका लागि सरकारको प्रभावकारी उपस्थिति आवश्यक रहेको बताउनुभयो ।

यसैगरी, सुस्तामा बसोबास गर्दै आएका ७२ वर्षीय चन्द्रिका कुर्मीले वृद्धावस्थासम्म पनि नेपाली नागरिकता प्राप्त गर्न नसकेको पीडा सुनाउनुभयो । आफू र आफ्नो परिवारका सदस्यसमेत नागरिकताविहीन रहेको बताउँदै उहाँले नागरिकता नहुँदा सरकारी सेवा सुविधा प्राप्त गर्न, सीमावर्ती क्षेत्रमा आवतजावत गर्न र कानुनी पहिचान स्थापित गर्न कठिनाइ भइरहेको जानकारी दिनुभयो ।

कुर्मीका अनुसार भारतीय बजारमा दैनिक उपभोग्य सामग्री खरिद गर्न जाँदा एसएसबीले परिचय खुल्ने कागजात माग्ने र नागरिकता नहुँदा आवतजावतमा रोकटोक गर्ने गरेको छ । लामो समयदेखि सुस्तामा बसोबास गर्दै आए पनि नागरिकता प्राप्त गर्न नसक्दा सामान्य दैनिक कामकाजमा समेत समस्या भोग्नुपरेको उहाँको भनाइ छ ।

७२ वर्षको उमेरमा पनि आफ्नो पहिचान स्थापित हुन नसकेको गुनासो गर्दै कुर्मीले भन्नुभयो, “हामीलाई नागरिकता चाहिएको छ । नागरिकता बन्नु सबैभन्दा जरुरी छ । सीमा समस्या पनि समाधान हुनुपर्छ ।”

उहाँले नागरिकताको अभावमा जग्गाको कानुनी स्वामित्व कायम गर्नसमेत कठिनाइ भइरहेको बताउनुभयो । सुस्तामा लामो समयदेखि कायम सीमा विवादका कारण स्थानीय बासिन्दाले विभिन्न समस्या भोग्दै आएको उल्लेख गर्दै उहाँले विगतमा सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको धरपकड तथा मुद्दामामिलासमेत सामना गर्नुपरेको प्रसंग सुनाउनुभयो ।

सुस्तावासीका अनुसार नागरिकता, सीमा व्यवस्थापन र भूमि अधिकारका समस्या एकअर्कासँग जोडिएका छन् । नागरिकता नहुँदा कानुनी पहिचान र जग्गाको स्वामित्व प्राप्तिमा समस्या हुने गरेको छ भने सीमा विवाद र नदी कटानले बसोबास तथा जीविकोपार्जनमा थप चुनौती सिर्जना गरेको छ ।

स्थानीयले नेपाल–भारत सीमाको स्थलगत अध्ययन गरी स्पष्ट सीमाङ्कन र सीमा स्तम्भ स्थापना गर्न, अतिक्रमण भएको भनिएका क्षेत्रको वास्तविक अवस्था पहिचान गरी नेपाली भूमिको संरक्षण गर्न, नारायणी नदी नियन्त्रणका लागि दीर्घकालीन तटबन्ध निर्माण गर्न तथा नागरिकताबाट वञ्चित नागरिकको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति: २०२६-११-२४ , समय : १२:१५:२३ , २० मिनेटutes अगाडि