सिद्धार्थनगरको फोहोर व्यवस्थापनमा ऐतिहासिक निर्णय, पाँच वर्षका लागि निजी कम्पनीसँग सम्झौता

rupandehi khabar , २६  पटक हेरिएको

भैरहवा,मंसिर ८

लामो समयदेखि फोहोरमैला व्यवस्थापनको चुनौती झेल्दै आएको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको सरसफाइ व्यवस्थापनका लागि पाँच वर्षे सम्झौता गरेको छ। नगरपालिकाले फोहोरमैला सङ्कलन, ढुवानी तथा व्यवस्थापनको जिम्मेवारी वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवर्द्धन अफ नेपाल प्रा.लि.लाई दिएको हो।

नगरपालिकाले मायादेवी गाउँपालिका–७, रुपन्देहीस्थित उक्त कम्पनीसँग सोमबार सम्झौता गरेको जनाएको छ। सम्झौताअनुसार कम्पनीले नगर क्षेत्रभित्र उत्पादित फोहोरमैला सङ्कलन, ढुवानी, वर्गीकरण, व्यवस्थापन तथा सरसफाइसम्बन्धी काम गर्नेछ। नगरपालिकाका अनुसार फोहोरमैला व्यवस्थापनको आय ठेक्का रकम ३ करोड ६० लाख २ हजार ९ सय ७१ रुपैयाँ ७ पैसा रहेको छ। सम्झौता २०८३ वैशाख ७ गतेदेखि लागू भई २०८८ वैशाख ६ गतेसम्म कायम रहनेछ।

सिद्धार्थनगरमा लामो समयदेखि सडक किनार तथा सार्वजनिक स्थलमा फोहोर थुप्रिने, बजार क्षेत्रमा दुर्गन्ध फैलिने र नियमित सरसफाइ हुन नसक्ने समस्या रहँदै आएको छ। फोहोर व्यवस्थापनको कमजोर अवस्थाले नगरको सौन्दर्यसँगै वातावरणीय स्वच्छता र नागरिकको स्वास्थ्यमा समेत असर पार्दै आएको थियो।

नगर प्रमुख एवं संविधानसभा सदस्य इश्तियाक अहमद खानको नेतृत्वमा नगरपालिकाले उक्त समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यसहित निजी कम्पनीमार्फत व्यवस्थापन गर्ने निर्णय गरेको हो।

नगर प्रमुख खानले फोहोर व्यवस्थापन सिद्धार्थनगरको लामो समयदेखिको चुनौती र नगरवासीको चासोको विषय रहेको बताउनुभयो। उहाँले स्वच्छ सहर निर्माणलाई व्यवहारमै कार्यान्वयन गर्ने उद्देश्यले नगरपालिकाले यो कदम चालेको उल्लेख गर्नुभयो।

“नगरवासीले वर्षौंदेखि भोग्दै आएको फोहोरको समस्या समाधान गरी सफा, सुन्दर र स्वस्थ सिद्धार्थनगर निर्माण गर्ने हाम्रो प्रतिबद्धता हो। यो काम नगरपालिकाको मात्र नभई हामी सबैको साझा जिम्मेवारी पनि हो,” उहाँले भन्नुभयो।

उहाँले आगामी दिनमा नगरको सरसफाइमा देखिने गरी परिवर्तन ल्याउने लक्ष्य रहेको बताउनुभयो। पाँच वर्षका लागि गरिएको सम्झौताबाट नगरको फोहोर व्यवस्थापन प्रणाली व्यवस्थित हुने नगरपालिकाको अपेक्षा छ। यद्यपि सम्झौताको प्रभावकारिता कम्पनीले नियमित सेवा सञ्चालन गर्ने, फोहोरको उचित वर्गीकरण तथा व्यवस्थापन गर्ने र नगरपालिकाले प्रभावकारी अनुगमन गर्ने विषयमा निर्भर रहनेछ।

प्रकाशित मिति: २०२६-११-२४ , समय : ०९:४३:४८ , १५ मिनेटutes अगाडि