रुपन्देही खबर , १०२ पटक हेरिएको

भैरहवा, बैशाख १८
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको आयोजनामा “सामी” परियोजना अन्तर्गत सिनपा ९ मा वैदेशिक रोजगारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शेषकान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका व्यक्तिहरूलाई आवश्यक सावधानी, प्रक्रियागत जानकारी र कानुनी पक्षबारे सचेतना गराइएको थियो । कार्यक्रममा मनोसामाजिक परामर्शदाता मञ्जु कार्कीले कार्यक्रमको सहजीकरण गर्दै विदेशमा काम गर्दा देखिन सक्ने बिभिन्न किसिमका मानसिक चुनौतीहरू लगायत तालिम र सीपको आवश्यकता, र विदेशबाट प्राप्त हुने आर्थिक लाभबारे जानकारी गराउनु भएको थियो । उहाले वैदेशिक रोजगारीका क्रममा अङ्ग भङ्ग भएमा र ज्यान गुमेका खण्डमा सरकारबाट उपलब्ध हुने बीमा सुविधाबारे समेत जानकारी दिँदै सावधानी अपनाउन बिचौलियाबाट टाढा रहन सुझाव समेत दिनु भएको थियो ।
यस्तै गरी भवानी अर्यालले वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सीप सिक्नुपर्नेमा जोड दिँदै पुरुषका लागि स्काफोल्डर, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन लगायतका तालिम तथा महिलाका लागि गार्मेन्ट मेसिन अपरेटर, हाउसकीपर÷क्लिनर तालिमहरु दिएको र यसको आबस्यकता र उपलब्धताबारे जानकारी दिनु भएको थियो । उहाले विदेशमा उत्पन्न हुन सक्ने समस्याहरूको समाधान कसरी गर्ने र सरकारी तथा अन्य आवश्यक सेवा कसरी प्राप्त गर्न सकिन्छ भन्नेबारे सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सहभागी स्वयंसेविकाहरूले घर–घरमा गई वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूलाई आवश्यक जानकारी र सचेतना फैलाउने प्रतिबद्धता समेत गरेका छन ।
कार्यक्रममा सहभागीहरूलाई विदेश जानुअघि आवश्यक सम्पूर्ण कागजातहरू चेक गर्ने र परिवारलाई जानकारी गराई एक प्रति घरमै राख्न सुझाव दिइएको छ । जसले आकस्मिक समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको छ । सिद्धार्थनगर नगरपालिकाले यस्ता जनचेतनामूलक कार्यक्रमहरू नगरका अन्य वडाहरू र टोल सुधार समितिमार्फत पनि सञ्चालन गर्दै आएको छ। साथै, पाँच विद्यालयमा आधारित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
प्रकाशित मिति: २०२५-०५-०१ , समय : २२:१९:०९ , १ हप्ता अगाडि