लुम्बिनीमा राष्ट्रिय अभ्यास अदालत प्रतियोगिता सम्पन्न

रुपन्देही खबर , १६१  पटक हेरिएको

लुम्बिनी,बैशाख २१

कायममुकायम प्रधानन्यायधिश सपना प्रधान मल्लले कानुनी अनुसन्धानको अहिलेको प्रणालीलाई सुधार गरेर लैजानुपर्ने बताउनु भएको छ । नेपालका संविधानले करुणासहितको न्यायको कल्पना गरेको भन्दै त्यसलाई सबैले आत्मसाथ गर्दै अघि बढ्नुपर्ने उहाले बताउनु भयो । ‘कानून र करुणा एकअर्काका विपरित होइनन्, कानूनले न्याय बुझ्नुपर्छ, करुणायुक्त न्याय आजको आवश्यकता हो, त्यसो भएन भने न्याय प्राप्ती हुन सक्दैन, उहाले भन्नू भयो । अपराध अनुसन्धान, अभियोजनामा पनि करुणा हुनुपर्छ ।’ लुम्बिनी बौद्ध विश्वविद्यालयको स्कुल अफ ल ले आयोजना गरेको राष्ट्रिय अभ्यास अदालत प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई शनिबार लुम्बिनीमा सम्बोधन गर्दै कामु प्रधानन्याधिश मल्लले बुद्धले प्रदान गरेको शिक्षालाई अनुशरण गर्दै करुणायुक्त न्याय परिपाटीको विकास गर्नुपर्ने बताउनु भएको छ ।

अरुलाई पीडाबाट मुक्त गराउनु न्यायको अभिप्राय भएको उहाले बताउदै बुद्धले मानव वध गर्ने अंगुलीमाललाई सतमार्गमा ल्याउनका लागि दण्ड नदिइकन अपनाएको बाटोलाई उपचारात्मक न्याय प्रणालीको रुपमा बुझ्नुपर्ने बताउनु भयो । ‘अपराधको अनुसन्धान कसुरमाथि भइरहेको छ, तर पीडामाथि अनुसन्धान भइरहेको छैन, अनुसन्धान प्रणालीलाई परिवर्तन गर्न आवश्यक छ,उहाले महा न्याधिवक्तालाई आग्रह गर्दै भन्नु भयो –‘अव अनुसन्धान प्रणालीलाई फेर्नुपर्छ, संविधानको मर्म र फौजदारी न्याय प्रणालीको मर्म अनुसार गर्नुपर्छ, अदालतले त करुणासहितको न्याय शुरु गरिसकेको छ ।’
न्यायधिशहरु तटस्थ हुनुपर्छ भनेको शुन्यतामा नरहेको भन्दै साचो तथ्यमा हुनुपर्ने बताउनु भएको छ । करुणासिल चित्त भएमा न्यायको सुनिश्चितताको विकास हुने भन्दै विश्वविद्यालयले त्यस्ता जनशक्तिहरु उत्पादन गर्नुपर्ने बताउनु भयो । बुद्धिजमलाई कानूनसंग जोडेर लैजानुले विश्वलाई आकर्षण गर्न सक्ने बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै महान्यायधिवक्ता रमेश बडालले बुद्धले दिएका सन्देशलाई न्याय प्रणालीमा रुपान्तरण गर्दै जान आवश्यक रहेको बताउनु भएको छ । उहाले लुम्बिनी बौद्ध विश्वविद्यालयले एप्लाईड बुद्धिजमको पठनपाठनबाट समाजलाई मार्गदर्शन गरेकोमा धन्यवाद दिनु भयो ।

त्यस्तै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले संसदले निर्माण गर्न कानूनमा न्यायिक करुणाको आवश्यकता रहेको औल्याउदै त्यसलाई उपयोगमा ल्याउन आवश्यक रहेको बताउनु भएको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष विजय प्रसाद मिश्रले बौद्ध न्याय प्रणालीलाई न्याय सम्पादनमा अनुशरण गर्दा कानूनी क्षेत्रमा नयाँ अभ्यास हुने बताउनु भयो

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टर डा. तिलकराम आचार्यले विश्वविद्यालयले कोर र एप्लाईड गरी दुई धारमा बौद्ध दर्शनका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भएको छ । उहाले एप्लाईड अन्तर्गत सञ्चालन गरिएको कानून विषयले समाजमा करुणायुक्त जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास गर्दै विश्वकै लागि बौद्ध दर्शनयुक्त कानूनी जनशक्ति नविनतम हुने उहाले जोड दिनु भयो ।

कार्यक्रममा सर्वाेच्च अदालतका पूर्व न्यायधिश भरतबहादुर कार्की, उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायधिस बासुदेव आचार्य, रुपन्देहीका जिल्ला न्यायधिश अशोककुमार बस्नेत, त्रिवि कानुन संकायका डिन कृष्णप्रसाद बस्याल, लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा. हरिशरण चखु, स्कुल अफ लका निर्देशक प्रकाशमणि शर्मा लगायतले बोल्दै बौद्ध दर्शन, न्याय प्रणालीका विषयमा बोल्नु भएको थियो ।

मुलुकका नौ वटा विश्वविद्यालयबाट १६ क्याम्पसहरुको सहभागिता रहेको अभ्यास अदालत प्रतियोगितामा काठमाडौं स्कुल अफ लले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ लले दोस्रो स्थान प्राप्त गरेको छ । त्यस्तै बेष्ट मेमोरियलको उपाधि नेपाल ल क्याम्पस र बेष्ट स्पीकर ल क्याम्पसकै सबिना ढकाल भएको निर्देशक भुसालले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२५-०५-०४ , समय : ०६:४५:१७ , ६ दिन अगाडि