रुपन्देही खबर , १२३ पटक हेरिएको

भैरहवा,जेठ १८
सिद्धार्थ होटल संघ नेपालको १९औं स्थापना दिवस एवम सत्कार दिवस शुक्रवार भैरहवामा भब्य कार्यक्रमका बिच मनाइएको छ । सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा १९औं स्थापना दिवस एवम सत्कार दिवस मनाइएको हो । कार्यक्रमको उदघाटन गर्नु हुदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरूलाई लक्षित गरेर होटल व्यवसायमा लगानी बढाउन जोड दिनुभएको छ । उहाँले होटल क्षेत्रको लगानीलाई पर्यटन व्यवसायसँग जोडेर लैजान आग्रह गर्नु भएको छ ।
उहाले सरकारले पर्यटन क्षेत्रको विकास, लगानी र व्यवसाय प्रवद्र्धनका लागि अनुकूल नीति ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई उत्साहित भएर अघि बढ्न आह्वान गर्नुभएको छ । उहाले अहिलेको नीति तथा कार्यक्रम र बजेटले धेरै कुरा सम्बोधन गरिसकेको बताउदै सरकारले सकारात्मक कामको लागि सहजीकरण र आवश्यक वातावरण निर्माण गर्ने जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गर्दै उहाँले छिट्टै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जानकारी दिनुभयो ।
संघीय सरकारले अघि सारेको नीति तथा कार्यक्रम र प्रस्तुत गरेको बजेटबाट विमानस्थल सञ्चालनको आधार तयार भएको उल्लेख गर्दैे, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउने विश्वासमा ब्यक्त गर्दै प्रदेश सरकारले पनि निरन्तर पहल गरिरहेको जानकारी दिनु भयो ।
यस्तै गरी लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनैपर्ने बताउनुभएको छ । उहाँले मुलुकको समृद्धिको आधार पर्यटन भएकोले पर्यटनको बिकासमा लाग्नुपर्ने बताउनु भयो । यस्तै गरी सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बृद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउने गरी प्याकेज बनाउनु पर्नेमा जोड दिनु भएको छ । उहाँले लुम्बिनीको विकासले देशको विकास हुने बताउनुभयो ।
यस्तै गरी सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले संघले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्दै त्यसको प्रवद्र्धन तथा व्यवसायिक हकहितमा काम गर्दै आएको बताउनुभयो । उहाँले पर्यटन व्यवसायलाई उद्योग सरहको मान्यता दिनुपर्ने माग गर्दै आएको र यो विषय अहिलेको बजेटले समेटेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले सत्कार दिवसको अवसरमा शुक्रबारदेखि आइतबार (तीन दिन) सम्म पर्यटकलाई होटलमा खान र बस्न छुट सुविधा रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ,रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्य, होटल एशोसिएसन नेपालका अध्यक्ष विनायक शाह, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, सिद्धार्थ होटल संघका वरिष्ठ उपाध्यक्ष किशोर जोशी, उपाध्यक्ष भोज बहादुर खत्री, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवाल लगायतले आ आफनो भनाइ राख्नुभएको थियो ।
प्रकाशित मिति: २०२५-०६-०१ , समय : १०:१४:०२ , २ दिन अगाडि