कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता, देविस्थान भजन समूह हेमजा प्रथम

रुपन्देही खबर , ३८४  पटक हेरिएको

पोखरा, जेठ २५

कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिता देविस्थान भजन समूह पोखरा–२५ हेमजा प्रथम भएको छ । त्यसै गरी प्रतियोगितामा माछापुच्छ«े सेवा समाज पोखरा–२५ हेमजा द्वितीय, बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ तृतीय, राधाकृष्ण भजन समूह सैन मैना र भद्रकाली खैँजडी भजन समूह सान्त्वना भएका छन् ।

त्यसै गरी धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुर उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा–२५ हेमजा उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङ उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजार उत्कृष्ट प्रस्तुति घोषित भएका छन । त्यस्तै राष्ट्रिय लोक भजन चुट्का भुमही नवलपरासी उत्कृष्ट पुरुष स्वर, सृजना भजन समूह माथागडी पाल्पा उत्कृष्ट महिला स्वर, भगवती भजन समूह पोखरा–१४ खाल्टेमसिना उत्कृष्ट अनुशासन, ओम खहरे स्वर भजन समूह, मकवानपुर मनहरी उत्कृष्ट भेसभुसा, श्री गोपाल सिद्ध लोक भजन समूह प्राणिनी समाज उत्कृष्ट वाध्ययन्त्र, ओमकारेश्वर भजन समूह तार्केश्वर, काठमाडौँ वैदिक सनातन प्रस्तुति, सनातन वाल समूह नवलपुर गैँडाकोट उत्कृष्ट वाल कलाकार र हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूह गैँडाकोट उत्कृष्ट सन्देशमूलक प्रस्तुति घोषित भएका छन ।

प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई २ लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई १ लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । विजयी समूहलाई जेठ ३० गते शुक्रवार पुरस्कार वितरण गरिने प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले जानकारी दिनु भएको छ ।

प्रतियोगितामा अन्य विधाबाट विजयी समूहले २५ हजार ५ सय २५ रुपैयाँका दरले पुरस्कार पाउने छन् । ३ सय ५ समूहले नाम दर्ता गराएकोमा २ सय ५६ समूहले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको निर्णायकहरु पुरुषोत्तम न्यौपाने, रिता थापा, सुरेश अधिकारी, सरला पाण्डे ,नवराज बराल, विश्वमाया पौडेल रहेका थिए । पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: २०२५-०६-०८ , समय : ०९:३४:१४ , ७ महिना अगाडि