विद्यालयस्तरमा स्काउट विस्तारका लागि तिलोत्तमामा प्रशिक्षण

रुपन्देही खबर , ६२  पटक हेरिएको

तिलोत्तमा,असार १३

रुपन्देहीको तिलोत्तमामा स्काउटसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको आयोजनामा र नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यालयको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम तिलोत्तमा नगरपालिका–५ स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी चौधरीले विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा संलग्न गराउन सके सभ्य, सृजनशील र रचनात्मक समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो । उहाँले स्काउटले त्यसमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै विगतमा पालिकाबाट आवश्यक ध्यान नपाए पनि अब भने प्राथमिकताका साथ स्काउट गतिविधिहरूलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रशिक्षणमा पालिकाभित्रका ४२ वटा विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ‘स्काउट के हो?’, स्काउटको उद्देश्य, नियम, ईकाई गठन प्रक्रिया, गतिविधि तथा स्काउट शिक्षाको महत्वलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो । प्रशिक्षकका रूपमा तिलोत्तमा नगर स्काउटका प्रमुख आयुक्त पारेश्वर चापागाईं र डिल्लीराज पौडेलले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम तिलोत्तमा नगर स्काउटका प्रमुख आयुक्त पारेश्वर चापागाईंको अध्यक्षतामा, शान्ति नमुना मा.विका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको स्वागत मन्तव्य र स्काउट मास्टर दुर्गादत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२५-०६-२७ , समय : २३:०२:४२ , ५ घन्टा अगाडि