लुम्बिनी सांस्कृतिक नगरपालिकाद्धारा १ अर्व ५४ करोड, ५० लाख ५९ हजारको बजेट सार्वजनिक

उर्मिला यादव यात्री , १३४  पटक हेरिएको

लुम्बिनी, असार २१

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि १ अर्व ५४ करोड, ५० लाख ५९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रवार सम्पन्न १५ औं नगर सभाको बैठकमा नगरपालिका उपप्रमुख कल्पना हरिजनले १ अर्व ५४ करोड, ५० लाख ५९ हजार रुपैयाँ बराबरको आम्दानी खर्च भएको बजेट सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकार समानिकरण अनुदान अन्तर्गत रु १७ करोड ३० लाख, राजश्व बाँडफाँड तर्फ १४ करोड ७४ लाख, सशर्त अनुदान अन्तर्गत नेपाल सरकारको ३६ करोड ४२ लाख ९६ हजार र एसियाली विकास बैंड तर्फ ५३ करोड ६९ लाख ४ हजार, समपुरक अनुदान अन्तर्गत ६८ लाख हुने अनुमान गरिएको छ । साथै प्रदेश सरकार सशर्त अनुदान अन्तर्गत १ करोड ३० लाख, समानिकरण अनुदान अन्तर्गत १ करोड २० लाख ७२ हजार, राजश्व बाँडफाँड तर्फ १ करोड ३६ लाख ७२ हजार र समपुरक अनुदान अन्तर्गत १ करोड २० लाख हुने अनुमान गरिएको छ । यसै गरी नगर बिकास कोष तर्फ १० करोड १३ लाख ४ हजार, सडक बोर्ड तर्फ ४० लाख, आन्तरिक राजश्व तर्फ ५ करोड, घरजग्गा रजिष्ट्रेशन शुल्क वापत ४ करोड ७० लाख तथा बचत ६ करोड ३६ लाख ११ हजार गरी कुल १ अर्व ५४ करोड ५० लाख ५९ हजार आय ब्ययको बजेट सार्वजनिक गरिएको हो ।


नगर उपप्रमुख हरिजनले प्रस्ताबित बजेट तथा आ.ब. २०८२/०८३ का मुख्य कार्यक्रमहरुको बारेमा जानकारी गराउदै एसियाली विकास बैङ्क, नगरविकास कोष र नगरपालिकाको साझेदारीमा निर्माण हुने नगरपालिकाको प्रशासकिय भवन, बसपार्क निर्माण र पहुँच बाटो निर्माणका लागि ५३ करोड ६९ लाख ४ हजार रुपैया बजेट विनियोजन गरेको बताउनु भएको छ । यस्तै गरी मोग्लाहा मोहसड हुँदै सरसफाई अध्ययन केन्द्र तथा हरित पार्क जाने बाटो निर्माणका लागि रु १ करोड ३६ लाख, केवटलिया चोक देखि अदौलि जाने बाटो निर्माणका लागि २ करोड ४० लाख, अधुरो वडा न १,९,११, ६ र १२ का लागि १ करोड ९९ लाख, सु कन्या विमा धन योजनाका लागि ८० लाख, मर्मत सम्भार कोषका लागि रु १५ लाख, मेयर ब्लड कार्यक्रमका लागि ५ लाख , पर्सा चोकमा रहेको पार्क सुन्दरिकरणका लागि रु १५ लाख, सामुदायिक विद्यालयहरुमा वेभसाईट विकास गरी विद्युतिय अनुगमनका प्रणालीका लागि १५ लाख, राष्ट्रपति रनिङ्ग तथा मेयर कप खेलकुद कार्यक्रमका लागि १० लाख, छाडा चौपाय व्यवस्थापनका लागि १० लाख, लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रको अधुरो काम निर्माणका लागि २० लाख ,सरसफाई अध्ययन केन्द्रको नजिक बाँध निर्माणका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

शुक्रवार नगरपालिकाले नीति तथा कार्यक्रम पनि ल्याएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख सजरुद्धिन मुसलमानले सामाजिक, आर्थिक, साँस्कृतिक रुपान्तरणको संवाहकका रुपमा शैक्षिक प्रणालीलाई सुधार गर्नका लागि सबै तहको शिक्षामा समतामुलक पहुँचको सुनिश्चितता, गुणस्तरमा सुधार, अब्बल व्यवस्थापकीय क्षमताको विकास, सामुदायिक एवं संस्थागत विद्यालय बीचको विसमताको अन्त्य, विद्यालयहरुका बीचको असल अभ्यासहरुको आदान प्रदान गरी प्रयास गरे परिवर्तन सम्भव छ भन्ने मान्यता स्थापितका गर्नका लागि शैक्षिक प्रणालीलाई जिम्मेवार, जवाफदेही, पारदर्शी, नतिजामुखी र उत्तरदायी बनाउँदै नगरपालिकाको शैक्षिक क्षेत्र स्तरीय गराउन शिक्षा ,युवा तथा खेलकुदलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम तयार पारिएको बताउनुभयो ।

उहाले नगर शिक्षा विकास कोषलाई निरन्तरता दिँदै सो कोषबाट स्वयंसेवक शिक्षक, शैक्षिक पूर्वाधार निर्माण, खेलकुद विकासका क्रियाकलापहरु र अतिरिक्त शैक्षिक क्रियाकलापहरु सञ्चालन गरिने जानकारी दिनु भएको छ । यस्तै गरी विद्यालयहरुको कार्यसम्पादन सूचकमा आधारित अनुगमन गरी स्तरीकरण गर्ने र समस्याको पहिचान र सुधारका उपायहरु पहिल्याउने नीति लिइएको छ । विद्यालयको शैक्षिक तथ्यांकलाई व्यवस्थित र अद्यावधिक गर्नका लागि आइइएमआइएस तालिमलाई निरन्तरता दिइने जनाइएको छ ।

यस्तै गरी नगरभित्रका महत्वपूर्ण धार्मिक स्थल, पर्यटकीय स्थल, प्राकृतिक सम्पदा, भाषा, संस्कृति, कृषि, पेशा व्यवसाय, स्थानीय चाडपर्व, मेला, रहनसहन, जातजाति, भेषभुषा आदि विषयवस्तुहरु झल्किने गरी स्थानीय पाठ्यक्रमको निर्माण तथा पाठ्यपुस्तक तयार गरि सबै माध्यमिक विद्यालयहरुमा वेभसाइट निर्माण गरी नगरपालिका मार्फत विधुतीय अनुगमन प्रणालीलाई विस्तार गरिने प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले जानकारी दिनु भयो ।

यस्तै गरी फुलबारीयुक्त सुन्दर विद्यालय, हरित विद्यालय तथा सफासुग्घर विद्यालय निर्माण गर्न प्रोत्साहन गर्दै विद्यालयको वार्षिक उत्सव तथा विद्यार्थी तथा शिक्षकको जन्मदिनको अवसरमा वृक्षारोपण गर्न प्रोत्साहन गरिनेछ । प्राथमिक तहको अन्तिममा कक्षा ५ र आधारभूत तहको अन्तिम परीक्षा कक्षा ८ को सिकाइस्तर मापनका लागि नगरस्तरीय परीक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउने नीति लिइनेछ ।

प्रत्येक विद्यालयका शिक्षक तथा विद्यार्थीका लागि योग तथा ध्यान शिविर मार्फत शारीरिक तथा मानसिक सक्षमता अभिवृद्धि गरिने छ ।
शैक्षिक गतिविधिमा सुधार एवं गुणस्तरीयता कायम गर्न सामुदायिक विद्यालयका प्रध्यानाध्यापकसँग नतिजा सूचकमा आधारित कार्यसम्पादन सम्झौता गरिनेछ । प्रध्यानाध्यापकले आफु मातहतका प्रत्येक शिक्षकसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने। कार्यसम्पादन सम्झौतालाई शिक्षकको वृत्तिविकाससँग आवद्ध गरिने नीति अवलम्बन गरिएको नगर प्रमुख मुसलमानले जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२५-०७-०५ , समय : १०:४९:५२ , ३ घन्टा अगाडि