उर्मिला यादव यात्री , १०० पटक हेरिएको
भैरहवा, मंसिर २२
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा सञ्चालनमा रहेको शान्ति पुनर्स्थापना गृहले गर्दै आएका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी गतिविधिहरूको सरोकारवाला निकायहरूले अनुगमन गरेका छन् । शान्ति पुनस्र्थापना गृहको शाखा कार्यालय तथा सूचना र परामर्श केन्द्रमार्फत सञ्चालन भइरहेका सेवाग्राही लक्षित कार्यक्रमहरूको स्थलगत अवलोकन गर्दै सेवाको अवस्था, प्रभावकारिता र कार्यसम्पादनबारे जानकारी लिइएको हो । अनुगमनका क्रममा सुधारका लागि सुझाव तथा सल्लाहहरू समेत संकलन गरिएको शान्ति पुनस्र्थापना गृह बेलहियाकी सुपरभाइजर अन्जु चौधरीले जानकारी दिनुभयो ।

अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप कुमार क्षेत्री, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोख्रेल, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि सन्तोष आचार्य, शान्ति पुनस्र्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराई लगायतको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले भारतसँग जोडिएको संवेदनशील सीमा क्षेत्रलाई मध्यनजर गर्दै शान्ति पुनस्र्थापना गृहले सिमानाकाका समुदायमा सूचनामूलक कार्यक्रम, सचेतना र स्थानीय तहसँग समन्वयमा केन्द्रित भएर काम गर्नुपर्ने सुझाव दिनुभयो । “सीमा क्षेत्र मानव बेचबिखनको उच्च जोखिममा रहेकाले गृहले स्थानीय निकाय, सुरक्षाकर्मी र समुदायसँग सहकार्य बढाउन आवश्यक छ,” उहाँले भन्नुभयो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रदीप कुमार क्षेत्रीले शान्ति पुनस्र्थापना गृहले सिमा नाकामा कार्यरत सुरक्षा निकायसँग सूचनाको आदानप्रदान, जोखिममा परेका महिला तथा बालबालिकाको पहिचान र तत्काल उद्धार प्रणालीलाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सिमा क्षेत्रमा हुने शंकास्पद गतिविधिबारे प्रहरी र संस्थाबीच नियमित समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
अनुगमन टोलीले समुदायस्तरमा सूचना, परामर्श तथा पुनस्र्थापनाका क्षेत्रमा शान्ति पुनस्र्थापना गृहले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै सेवाको गुणस्तर अझ प्रभावकारी बनाउन सुझावहरू दिएको जनाएको छ । साथै आगामी दिनमा मानव बेचबिखनविरुद्धको अभियानलाई प्रभावकारी बनाउन सरोकारवाला निकायबीच समन्वय र सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ ।

शान्ति पुनस्र्थापना गृहले रुपन्देही जिल्लामा विसं २०७९ सालदेखि मानव बेचबिखन तथा ओसारपसारविरुद्ध समुदाय केन्द्रित सामाजिक सेवा, परामर्श र पुनस्र्थापनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति: २०२५-१२-०८ , समय : २०:५९:४२ , ३ घन्टा अगाडि