राममणिका विद्यार्थीलाई व्यावहारिक लेखन प्रशिक्षण

रुपन्देही खबर , ३३  पटक हेरिएको

मणिग्राम, भदौ २५

राममणि बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीका लागि आयोजित ‘व्यावहारिक लेखन’सम्बन्धी प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

विद्यार्थीहरूलाई अध्ययनसँगै व्यावहारिक तथा पेशागत जीवनमा आवश्यक पर्ने लेखन सीप विकास गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो। प्रशिक्षणमा प्रशिक्षक बाबुराम पाण्डेले श्रव्य–दृश्य सामग्री तथा उदाहरण प्रस्तुत गर्दै व्यावहारिक लेखनका विभिन्न पक्षबारे सहजीकरण गर्नुभएको थियो।

प्रशिक्षणका क्रममा दैनिक जीवन तथा पेशागत क्षेत्रमा आवश्यक पर्ने लेखन सीप, त्यसको प्रयोग, लेखनको प्रभावकारिता तथा व्यवहारिक लेखनका विविध पक्षबारे विद्यार्थीलाई जानकारी गराइएको थियो।

कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीको ज्ञान, सीप र व्यक्तित्व विकासका लागि क्याम्पसले नियमित अध्ययनसँगै अतिरिक्त तथा व्यावहारिक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। यस्ता प्रशिक्षणले विद्यार्थीलाई कक्षाकोठामा प्राप्त ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

विद्यार्थी परामर्श तथा रोजगार समितिका संयोजक भीमलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लेखा प्रमुख विष्णुप्रसाद भुसालले गर्नुभएको थियो। कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेसहित प्राध्यापकहरूको उपस्थिति रहेको थियो।प्रशिक्षणमा बीबीएस तेस्रो र चौथो वर्षका विद्यार्थीको सहभागिता रहेको क्याम्पसले जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-१० , समय : २०:३७:५९ , १३ मिनेटutes अगाडि