मोर्डन पब्लिक स्कुलले मनायो ३० औँ स्थापना दिवस

रुपन्देही खबर , ७९  पटक हेरिएको

भैरहवा, भदौ ३१

मोर्डन पब्लिक स्कुल सिद्धार्थ नगर ८ भैरहवाको ३० औं स्थापना दिवस सोमबार एक कार्यक्रमका बिच मनाइएको छ । बिद्यालयका संचालक कमलेश यादवको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका पुर्व शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा बिद्यालयमा ३० औं स्थापना दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले विकासको पहिलो पूर्वाधार नै शिक्षा भएकाले राज्य तथा समाजको विकासका लागि गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले पछिल्लो समय सिद्धार्थनगर क्षेत्रमा शैक्षिक संस्थाहरूको विकाससँगै शिक्षाको गुणस्तरमा समेत सुधार हुँदै गएको उल्लेख गर्दै मोर्डन पब्लिक स्कुलले शैक्षिक क्षेत्रमा प्राप्त गरेको उपलब्धि त्यसैको एउटा उदाहरण भएको बताउनुभयो ।

विद्यालयले ४ जीपीएसहित शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको उल्लेख गर्दै पोखरेलले विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको निरन्तर मेहनत र सहकार्यबाट यस्तो उपलब्धि सम्भव भएको बताउनुभयो । शिक्षाको क्षेत्रमा निरन्तर फड्को मार्दै अघि बढिरहेको अमित यादवसहितको टिमलाई धन्यवाद दिँदै उहाँले निजी क्षेत्रका शैक्षिक संस्थाको सक्रियताले सिद्धार्थनगरलाई शैक्षिक हबका रूपमा विकास गर्न महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो ।

उहाँले समाजमा स्थापित निजी संस्थाहरूले आफ्नो व्यावसायिक जिम्मेवारीसँगै सामाजिक तथा शैक्षिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेर अघि बढ्न सके त्यसबाट समग्र समाज र राष्ट्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिक्षा केवल परीक्षामा राम्रो अंक ल्याउने विषय नभई विद्यार्थीलाई असल, जिम्मेवार र सक्षम नागरिक बनाउने माध्यम भएकाले विद्यालयहरूले यसतर्फ पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

यस्तै गरी कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले मोर्डन पब्लिक स्कुलले जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्नु विद्यालयको व्यवस्थापन पक्ष, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकको सामूहिक मेहनतको परिणाम भएको बताउनुभयो । उहाँले लामो समयदेखि शिक्षा क्षेत्रसँग जोडिएर आफूले पनि शिक्षाको विकासमा योगदान गर्दै आएको उल्लेख गर्दै शिक्षा क्षेत्रलाई पवित्र क्षेत्रका रूपमा लिएर सबै पक्षले यसको विकासमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

यादवले शिक्षा क्षेत्रमा गरिएको लगानीको प्रतिफल तत्काल आर्थिक रूपमा मात्र नदेखिए पनि त्यसले दीर्घकालीन रूपमा सक्षम जनशक्ति निर्माण गर्ने बताउनुभयो । उहाँले विद्यालयहरू केवल पढाइ सञ्चालन गर्ने संस्था नभई समाजमा चेतना, अनुशासन र सकारात्मक सोच विकास गर्ने महत्वपूर्ण आधार भएकाले शिक्षाको गुणस्तर सुधारमा विद्यालय, अभिभावक र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

यस्तै गरी सूर्यदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत गिरीले मोर्डन पब्लिक स्कुलको ३० औँ वार्षिकोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले तीन दशकको अवधिमा विद्यालयले आफ्नो छुट्टै इतिहास र पहिचान निर्माण गर्न सफल भएको उल्लेख गर्दै यहाँ अध्ययन गरेका विद्यार्थीहरूले विभिन्न क्षेत्रमा सफलता हासिल गरिरहेको बताउनुभयो ।

गिरीले नर्सरीदेखि कक्षा १० सम्म मोर्डन पब्लिक स्कुलमा अध्ययन गरेका विद्यार्थीहरू छात्रवृत्तिसहित विभिन्न प्रतिस्पर्धामा सफल हुनु विद्यालयले दिएको शिक्षाको सकारात्मक परिणाम भएको बताउनुभयो । उहाँले प्रगति भन्नाले पैसा कमाउनु मात्र नभई शिक्षाका माध्यमबाट समाजमा ज्ञान, चेतना र सकारात्मक परिवर्तन ल्याउनु पनि भएकाले शैक्षिक संस्थाहरूले सामाजिक उत्तरदायित्वलाई समेत आफ्नो यात्राको महत्वपूर्ण हिस्सा बनाउनुपर्ने बताउनुभयो ।

यस्तै गरी श्री नवदुर्गा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द यादवले मोर्डन पब्लिक स्कुलले तीन दशकको अवधिमा शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै विद्यालयले प्राप्त गरेका उपलब्धिका पछाडि शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापनको निरन्तर मेहनत रहेको बताउनुभयो । उहाँले बदलिँदो समय र प्रविधिसँगै शिक्षण सिकाइका पद्धतिमा समेत सुधार गर्दै विद्यार्थीलाई समयअनुकूल शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

 

यस्तै गरी श्री नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्र गौडले मोर्डन पब्लिक स्कुल पुरानो इतिहास बोकेको र आफ्नो शैक्षिक पहिचान बनाउन सफल विद्यालय भएको बताउनुभयो । उहाँले लामो समयसम्म निरन्तर रूपमा विद्यालय सञ्चालन गर्दै शैक्षिक क्षेत्रमा योगदान पु¥याउनु आफैंमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालयले गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै गरी ब्राइट स्टार इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलका प्रबन्धक  अमित यादवले मोर्डन पब्लिक स्कुल सिद्धार्थनगरको मात्र नभई रुपन्देही जिल्लाकै उत्कृष्ट विद्यालयका रूपमा स्थापित हुन सफल भएको बताउनुभयो। उहाँले विद्यालयले हासिल गरेको शैक्षिक उपलब्धिलाई निरन्तरता दिँदै आगामी दिनमा राष्ट्रियस्तरमै उत्कृष्ट विद्यालयका रूपमा स्थापित गराउन आफूहरू रातदिन मेहनत र परिश्रम गर्न तयार रहेको बताउनुभयो।

यादवले मोर्डन पब्लिक स्कुलले प्राप्त गरेको सफलता विद्यालयको मात्र जित नभई समग्र शिक्षाको जित भएको बताउनुभयो। उहाँले एउटा विद्यालयको उपलब्धिलाई व्यक्तिगत वा संस्थागत सफलताका रूपमा मात्र हेर्नुभन्दा त्यसले समग्र शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश दिने भएकाले सबै विद्यालयको प्रगति आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँले सामुदायिक होस् वा संस्थागत, सबै विद्यालयको उद्देश्य विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम र जिम्मेवार नागरिक निर्माण गर्नु रहेको उल्लेख गर्नुभयो। आफू पनि शिक्षासँग जोडिएको जिम्मेवार नागरिक भएकाले सामुदायिक तथा संस्थागत दुवै विद्यालयले प्रगति गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उहाँले बताउनुभयो। शिक्षाको क्षेत्रमा प्रतिस्पर्धा भए पनि त्यो एकअर्कालाई पछाडि पार्नेभन्दा शैक्षिक गुणस्तर सुधार गर्ने स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

 

‘शिक्षाको जित हुनुपर्छ’ भन्ने भावनाका साथ विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थी सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न सके मात्र नेपालको शैक्षिक क्षेत्र अझ बलियो बन्न सक्ने यादवको भनाइ थियो। उहाँले विद्यालयको उपलब्धिलाई आगामी दिनको थप जिम्मेवारीका रूपमा लिँदै विद्यार्थीको उज्ज्वल भविष्य र शिक्षाको गुणस्तर सुधारका लागि निरन्तर मेहनत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस्तै गरी कार्यक्रममा युवा नेता तथा समाजसेवी राहुल यादवले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा छिपागढ माध्यमिक विद्यालयका प्रधानाध्यापक मुबारक अली, पोखरभिण्डी माध्यमिक विद्यालयका प्रधानाध्यापक पवनकुमार यादव, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक महेश गुप्ता तथा युवा नेता एवं समाजसेवी विशाल चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले विद्यालयले तीन दशकको यात्रामा शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै बदलिँदो शैक्षिक आवश्यकताअनुसार शिक्षण पद्धतिमा सुधार, विद्यार्थीको प्रतिभा पहिचान तथा सर्वाङ्गीण विकासमा थप ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

स्थापना दिवसका अवसरमा सिद्धार्थनगर नगरपालिकाका पुर्व शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद पोखरेललाई बिदाई संगै दोसल्ला ओढाई सम्मान गरिएको थियो । यस्तै गरी कार्यक्रममा पोखरभिण्डी माध्यमिक विद्यालयका प्रधानाध्यापक पवनकुमार यादव, युवा नेता एवं समाजसेवी विशाल चौधरी, युवा नेता तथा समाजसेवी राहुल यादवलाई समेत दोसल्ला ओढाई सम्मान गरिएको थियो । विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: २०२६-०९-१६ , समय : १०:४५:०१ , ३८ मिनेटutes अगाडि