रुपन्देही खबर , २७ पटक हेरिएको
भैरहवा, कार्तिक २
यस वर्ष नवरात्रमा तिथिको दोहोरोपनका कारण आज पनि महाअष्टमीको कर्म गर्नुपर्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा हिजो र आज दुवै दिन महाअष्टमी उल्लेख गरिएकाले आज पनि दशैँ घर तथा पूजा कोठामा महाअष्टमीको पूजा, आराधना र धार्मिक विधि दोहोर्याउनुपर्ने भएको हो ।
समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा.डा. देवमणि भट्टराईका अनुसार अष्टमी तिथि दुई दिन परेकाले आज पनि महाअष्टमीका धार्मिक कर्म गर्नुपर्ने हुन्छ । उहाँका अनुसार देवीको साधना, पूजा र आराधनाका लागि एक दिन थपिँदैमा धार्मिक विधिमा कुनै फरक पर्दैन ।
असोज शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने गएराति नै सम्पन्न गरिएको छ । यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले नवरात्र नौ रातको सट्टा दश रातको भएको छ । त्यसैअनुसार विजयादशमीका दिन लगाइने टीकामा १० रात्रिका जमरा प्रयोग गरिने भएको छ ।
यसैबीच, काठमाडौँस्थित हनुमानढोका दरबारमा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा आज राति गरिने भएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार समितिसँगको परामर्श तथा तलेजुका पुजारीले पालना गर्ने परम्पराअनुसार आज राति मूल पूजा गर्न लागिएको हो ।
हनुमानढोका दरबारमा महाअष्टमीको कर्म सम्पन्न गरेपछि त्यसको भोलिपल्ट महानवमीको पूजा तथा अन्य धार्मिक विधि गर्ने परम्परा रहेकाले यस वर्ष मूल पूजा आज गर्न लागिएको उहाँले जानकारी दिनुभयो । दरबार हेरचाह अड्डाका अनुसार हनुमानढोका दरबारको दशैँ घरमा हिजो महाअष्टमीको सामान्य पूजा गरिएको थियो । आज भने विशेष विधिअनुसार मूल पूजा गरिनेछ ।
दशैँमा महाअष्टमी र महानवमीका दिन देवी दुर्गाको विशेष पूजा, आराधना तथा धार्मिक अनुष्ठान गरिन्छ । तिथिअनुसार गरिने यस्ता कर्ममा परम्परा र धार्मिक विधिलाई विशेष महत्त्व दिइने भएकाले यस वर्ष पनि पञ्चाङ्ग तथा परम्पराअनुसार पूजा सम्पन्न गर्न लागिएको हो ।
प्रकाशित मिति: २०२६-१०-१९ , समय : ०९:२७:५३ , २ घन्टा अगाडि