नेपाल–चीन शैक्षिक सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सांसद खानको जोड

रुपन्देही खबर , १८  पटक हेरिएको

लुम्बिनी, मंसिर १३

प्रतिनिधिसभा सदस्य तौफिक अहमद खानले नेपालमा चिनियाँ भाषा शिक्षाको विस्तार, स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन तथा शैक्षिक सहकार्यका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित दक्षिण एसियाली चिनियाँ भाषा शिक्षा तथा सहकार्य मञ्च (South Asian Forum on Chinese Language Education and Cooperation) को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद खानले भाषा केवल सञ्चारको माध्यम मात्र नभई जीवन, संस्कृति र ज्ञान आदानप्रदानको महत्वपूर्ण आधार भएको बताउनु भयो। उहाले  बहुभाषिक ज्ञानले व्यक्तिको व्यावसायिक क्षमता र अवसरसमेत विस्तार गर्ने उल्लेख गर्दै नेपाली विद्यार्थी तथा युवाहरूलाई विभिन्न भाषा सिक्न प्रोत्साहित गर्नु भयो ।

उहाले विगतका सरकारका पालामा नेपाल र चीनबीच शिक्षा तथा भाषा शिक्षासम्बन्धी विभिन्न समझदारी र सम्झौताहरू भए पनि ती सबै प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउनु भयो। अब त्यस्ता समझदारीलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको उहाको भनाइ थियो। चिनियाँ भाषा शिक्षाका लागि विद्यार्थीको रुचि र माग बढिरहेको भए पनि पर्याप्त शिक्षक, उपयुक्त पाठ्यक्रम तथा प्रभावकारी नीतिगत व्यवस्थाको अभाव चुनौतीका रूपमा रहेको उनले औँल्याउनु भयो ।

चीनमा भाषा अध्ययन गरेर नेपाल फर्किएका विद्यार्थीले आफ्नो सीप र ज्ञानलाई देशभित्र प्रयोग गर्ने पर्याप्त अवसर नपाएको विषय पनि उहाले  उठाउनु भएको थियो । यसका लागि पाठ्यक्रम र नीतिगत व्यवस्थामा सुधार गरी भाषा शिक्षालाई स्थानीय आवश्यकता र रोजगारीसँग जोड्नुपर्नेमा उहाले जोड दिनु भयो।
लुम्बिनीको पर्यटन विकाससँग चिनियाँ भाषा शिक्षालाई जोड्दै सांसद खानले यहाँ आउने चिनियाँ पर्यटकलाई आवश्यक जानकारी र मार्गदर्शन दिन सक्ने चिनियाँ भाषाका दक्ष जनशक्तिको अभाव रहेको बताउनु  भएको छ । प्रत्येक वर्ष ठूलो संख्यामा चिनियाँ पर्यटक तथा तीर्थयात्री लुम्बिनी आउने गरे पनि उनीहरूलाई लुम्बिनीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वबारे चिनियाँ भाषामा जानकारी दिन पर्याप्त जनशक्ति नभएको उहाको भनाइ थियो।
उहाले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई चिनियाँ भाषा शिक्षा र क्षेत्रीय शैक्षिक सहकार्यको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न आग्रह गर्नु भयो । विश्वविद्यालय, कन्फ्युसियस इन्स्टिच्युट तथा दक्षिण एसियाली चिनियाँ भाषा शिक्षा मञ्चबीच सहकार्य विस्तार गरी स्थानीय युवालाई चिनियाँ भाषा सिकाउने र आवश्यक जनशक्ति तयार गर्ने काम अघि बढाउनुपर्ने उहाले बताउनु भयो ।
सांसद खानले विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार तथा सम्बन्धित पक्षसँग छलफल गरी स्थानीय तहमा चिनियाँ भाषा शिक्षाको विकासमा देखिएका नीतिगत र व्यावहारिक समस्याहरू समाधान गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

कार्यक्रम आयोजक, लुम्बिनी बौद्ध विश्वविद्यालय तथा चिनियाँ पक्षलाई बधाई दिँदै उहाले यस मञ्चलाई नेपाल–चीन शैक्षिक तथा सांस्कृतिक सहकार्यको प्रभावकारी साझा प्लेटफर्मका रूपमा विकास गर्न शुभकामना व्यक्त गर्नु भएको थियो ।

२७ देखि २९ नोभेम्बर २०२६ सम्म सञ्चालन भइरहेको उक्त मञ्च नेपाल चिनियाँ भाषा शिक्षक संघको आयोजनामा तथा सम्बन्धित शैक्षिक संस्थाहरूको सहकार्यमा भइरहेको छ। २८ नोभेम्बरमा उद्घाटन समारोह सम्पन्न भए पनि मञ्चअन्तर्गतका शैक्षिक छलफल, अनुसन्धान प्रस्तुति तथा अन्य गतिविधिहरू २९ नोभेम्बरसम्म जारी रहनेछ।

प्रकाशित मिति: २०२६-११-२९ , समय : ०६:३०:४६ , १६ मिनेटutes अगाडि