रुपन्देही खबर , ३६ पटक हेरिएको
भैरहवा, मंसिर ११
भैरहवामा मंसिर १७ देखि २८ गतेसम्म सञ्चालन हुने १०औँ लुम्बिनी राष्ट्रिय महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अनुसार शुक्रबारसम्म महोत्सवका २५० स्टलमध्ये २४० स्टल बुकिङ भइसकेका छन् ।
भैरहवास्थित अञ्चलपुरमा आयोजना हुने महोत्सवको तयारीबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले ९० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । स्टल निर्माण, सचिवालय व्यवस्थापन तथा सुरक्षा प्रबन्धलगायतका काम पूरा भएको र मञ्च निर्माण पनि अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो ।
बाँकी तयारी एक–दुई दिनभित्र पूरा गरिने अध्यक्ष आचार्यले बताउनुभयो । महोत्सवमा कुल २५० स्टल रहने र बाँकी १० स्टलको बुकिङ पनि छिट्टै पूरा हुने आयोजकको अपेक्षा छ । विभिन्न समिति गठन गरी महोत्सवको तयारीलाई तीव्रता दिइएको उहाँले जानकारी दिनुभयो ।
यसपटकको महोत्सव नयाँ उद्यमशीलताको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा व्यवसायीलाई बजारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको अध्यक्ष आचार्यले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले लुम्बिनी राष्ट्रिय महोत्सव रुपन्देहीको गौरवका रूपमा स्थापित हुँदै आएको बताउनुभयो । २०६१ सालदेखि भैरहवामा सुरु भएको महोत्सवले स्वदेशी उत्पादन, स्थानीय कला तथा संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको उहाँको भनाइ छ ।
महोत्सवमा तराईदेखि हिमालसम्मका उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिने श्रेष्ठले बताउनुभयो । मुस्ताङको स्याउ, दोलखाको किवी, हुम्ला–जुम्लाका उत्पादनसँगै रुपन्देहीका उद्योग तथा प्रतिष्ठानका सामग्रीसमेत महोत्सवमा रहने उहाँले जानकारी दिनुभयो ।
महोत्सव अवधिभर विभिन्न विषयमा छलफल तथा गोष्ठीका साथै रचनात्मक, सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीकरण तथा उद्यमशीलताको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मेला प्रचारप्रसार समितिका संयोजक एवं संघका सदस्य कमल ज्ञवालीले महोत्सव स्वदेशी उत्पादनको प्रवर्द्धन तथा व्यवसायीकरणका लागि महत्त्वपूर्ण अवसर हुने बताउनुभयो । उहाँले महोत्सव सफल बनाउन रुपन्देहीवासीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । संघका उपाध्यक्ष रोहितकुमार अग्रवालले महोत्सव सबैको साझा कार्यक्रम भएको बताउँदै साना तथा ठूला व्यवसायीका उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति: २०२६-११-२७ , समय : २०:४२:५२ , २५ मिनेटutes अगाडि