rupandehi khabar , १८ पटक हेरिएको
भैरहवा, मंसिर ११
रुपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ परिवारले ६५ वर्षपछि जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । पुस्तौँदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयलाई बिहीबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरिएको हो ।
गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल र वडाध्यक्ष शैलेन्द्रकुमार पाण्डेयले संयुक्त रूपमा स्थानीयलाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको थियो । लालपुर्जा प्राप्त गरेपछि स्थानीयले खुसी व्यक्त गर्दै नाचगानसहित जनप्रतिनिधि तथा सम्बन्धित निकायलाई धन्यवाद दिएका थिए ।
हजुरबुवा र बुवाको पालादेखि जग्गा भोगचलन गर्दै आए पनि स्वामित्वको प्रमाण नहुँदा बैंकिङ कारोबार, जग्गा बिक्रीवितरण, नामसारी तथा अन्य आर्थिक गतिविधिमा समस्या भोग्दै आएका परिवारले अब कानुनी रूपमा जग्गाको स्वामित्व प्राप्त गरेका छन् । लालपुर्जा वितरणका लागि नापी कार्यालय रुपन्देहीले आवश्यक प्राविधिक प्रक्रिया पूरा गरेको थियो ।
गाउँपालिका अध्यक्ष चौधरीले यसपटक १४८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको बताउँदै बाँकी पुर्जाविहीन परिवारलाई पनि क्रमशः उपलब्ध गराइने जानकारी दिनुभयो । गाउँपालिकाका अन्य वडामा समेत घरधुरी तथा गाउँब्लकसम्बन्धी काम भइरहेको उल्लेख गर्दै उहाँले प्रक्रिया पूरा भएपछि लालपुर्जा वितरण गरिने बताउनुभयो ।
उहाँले आफ्नो कार्यकालमा पालिकाभित्रका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाको कानुनी स्वामित्व दिलाउने कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो । वर्षौँदेखि जग्गा भोगचलन गरे पनि स्वामित्वको प्रमाण नहुँदा नागरिकले विभिन्न कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै उहाँले जग्गाधनी पुर्जा वितरणले स्थानीयको जीवनयापन सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले लालपुर्जा स्थानीयका लागि कागजी प्रमाण मात्रै नभई ६५ वर्षदेखिको संघर्ष र मेहनतको दस्तावेज भएको बताउनुभयो । जग्गाको स्वामित्व नहुँदा स्थानीयले तिरस्कार, अपमान, दुर्व्यवहार तथा सामाजिक बहिष्करणसमेत भोग्नुपरेको उल्लेख गर्दै उहाँले लालपुर्जा प्राप्तिसँगै नागरिकको आत्मसम्मान, सामाजिक प्रतिष्ठा र आर्थिक सुरक्षामा वृद्धि हुने बताउनुभयो ।
मायादेवी–७ का वडाध्यक्ष शैलेन्द्रकुमार पाण्डेयले वडाका चारवटा टोलमा विवादरहित ढंगबाट काम सम्पन्न गरी लालपुर्जा वितरण गर्न सफल भएको बताउनुभयो । बाँकी टोलमा पनि प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उहाँले छिट्टै सबै पुर्जाविहीन परिवारलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयो । लामो समयदेखि गाउँपालिका र नापी कार्यालयसँग समन्वय गरी स्थानीयको जग्गा स्वामित्वसम्बन्धी समस्या समाधानका लागि पहल गरिएको उहाँको भनाइ थियो ।
लालपुर्जा प्राप्त गरेका स्थानीय राकेशकुमार पाण्डेयले पुस्तौँदेखि जग्गाधनी पुर्जाका लागि प्रयास गर्दै आएको बताउनुभयो । बाजे र बुवाले समेत पुर्जा प्राप्तिका लागि पहल गरे पनि सफल हुन नसकेको उल्लेख गर्दै उहाँले आफ्नो हातमा लालपुर्जा आइपुगेपछि ठूलो राहत र खुसी मिलेको बताउनुभयो । अब जग्गा धितो राखेर बैंकिङ कारोबार गर्न तथा अन्य आर्थिक गतिविधि गर्न सहज हुने उहाँको भनाइ थियो ।
नापी कार्यालय रुपन्देहीका प्रमुख मणिप्रसाद रेग्मीले सबै पक्षको मेहनत र सहयोगबाट ऐतिहासिक काम सम्पन्न भएको बताउनुभयो । उहाँले बाँकी रहेका पुर्जाविहीन परिवारको जग्गासम्बन्धी प्रक्रिया पनि छिटो पूरा गरी लालपुर्जा वितरण गर्ने गरी काम अघि बढाइने जानकारी दिनुभयो ।
लालपुर्जा नहुँदा वर्षौँदेखि जग्गा भोगचलन गरे पनि कानुनी स्वामित्व प्राप्त गर्न नसकेका स्थानीयले बैंकमा जग्गा धितो राख्न, बिक्रीवितरण गर्न, नामसारी गर्न तथा जग्गालाई आर्थिक गतिविधिमा उपयोग गर्न पाएका थिएनन् । ६५ वर्षपछि जग्गाको कानुनी स्वामित्व प्राप्त भएपछि स्थानीयको आर्थिक तथा सामाजिक जीवनमा सहजता आउने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: २०२६-११-२७ , समय : १०:०९:२२ , २६ मिनेटutes अगाडि