एजेन्सी , २७ पटक हेरिएको
तस्वीर : एजेन्सी
युगान्डाले लोकतान्त्रिक गणतन्त्र (डीआर) कङ्गोबाट फर्कने आफ्ना नागरिकका लागि २१ दिने क्वरेण्टीन लागू गरेको छ । इबोला भाइरसको फैलावटलाई नियन्त्रण गर्न नयाँ प्रतिबन्धहरू लागू गर्दै डीआर कङ्गोबाट फर्किनेहरूलाई क्वरेण्टीनमा राखिने युगान्डाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । स्वदेश फर्किने युगान्डीहरूले आफ्नै खर्चमा क्वरेण्टीनमा बस्नुपर्नेछ ।
इबोला भाइरसको सङ्क्रमणका कारण गएको मे महिनायता डीआर कङ्गोमा ४ हजार ८०० जनाभन्दा धेरैको ज्यान गएको छ । यो भाइरस अन्य धेरै देशहरूमा पनि फैलिसकेको छ । युगान्डा भएर यात्रा गरेका २ जना व्यक्तिमा केन्या र नाइजेरियामा इबोला सङ्क्रमण पुष्टि भएपछि उठेका प्रश्नहरूकै बीच युगान्डाले प्रतिबन्धहरू लागू गरेको हो ।
डीआर कङ्गो पुगेका यात्रुहरूलाई युगान्डा हुँदै अन्यत्र जान अनुमति दिइने छैन । युगान्डाका स्वास्थ्यमन्त्री क्रिस बार्योमुन्सीका अनुसार डीआर कङ्गोबाट केवल अत्यावश्यक कामका लागि यात्रा गर्नेहरूलाई मात्र प्रवेश दिइनेछ तर उनीहरूले कडा जनस्वास्थ्य उपायहरू पालना गर्नुपर्नेछ । युगान्डाले एन्टेब्बे अन्तर्राष्ट्रिय विमानस्थल र सबै स्थल सीमा नाकाहरूमा यात्रुहरूको जाँचलाई तीव्र पारेको तथा तोकिएका सडक जाँच विन्दुहरूमा पनि जाँचको व्यवस्था मिलाएको खबरमा उल्लेख छ ।
प्रकाशित मिति: २०२६-१०-२६ , समय : १९:०६:१० , १ घन्टा अगाडि