रुपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिक हतियार सहित पक्राउ

उर्मिला यादव यात्री , ४८७  पटक हेरिएको

भैरहवा, कार्तिक १६

रुपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोरखपुर चिलुवाताल पोस्ट मोहरीपुर ग्राम भगवानपुरका २८ वर्षीय सुनील कुमार सहानी र सोही ठाउँको सहजनवा पोस्ट ग्राम घगसरा बस्ने २६ वर्षीय शशीकान्त भट्ट रहेका छ्न ।

असोज २३ गते साँझ चार बजेको समयमा लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर ४ पर्सा महिलवार भित्री सडकमा सहानी र भट्टले हतियार देखाइ रेमिटयान्सको कर्मचारीबाट १० लाख ९० हजार लुटेर भागेका थिए ।

मोग्लहास्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेसनमा काम गर्दै आएका कर्मचारीलाई पिछा गर्दै हतियार देखाई उनीहरूले लुटपाट गरेका थिए । भारतीय नम्बर नखुलेको मोटरसाइकलबाट पिछा गर्दै लुटपाट गरेका उनीहरुलाई रुपन्देही प्रहरीले मर्चवारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताउनु भएको छ ।

भारतमा पनि “वान्टेड” सूचीमा रहेका लुटपाटमा सन्लग्न दुवै जनाको साथबाट प्रहरीले यु पी ५८ भि १८१४ नम्बरको भारतीय प्लेटको मोटरसाइकल र हतियार बरामद गरेको छ । कार्तिक १० गते भाईटीकाको दिन साँझ ६ बजे कोटहिमाई गाउँपालिका-१ सिपवास्थित इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । सहानी र भट्टले प्रहरीसँग प्रतिकार गर्न खोज्दा प्रहरी निरीक्षक युवराजजंग कार्कीको हातको औँला फ्याक्चर समेत भएको छ ।

पक्राउ परेको सहानीको साथबाट सेमी अटोमेटी पेस्तोल र सो मा लाग्ने म्यागजिन एक थान, पाँच थान गोली र  भट्टको साथबाट घरेलु बनावटको कटुवा पेस्तोल १ थान,सो मा लाग्ने गोली राउन्ड १ थान , मोबाइल र आधार कार्ड बरामद भएको एसपी रेग्मीले बताउनु भयो । 

पक्राउ परेका सहानी र भट्टलाइ जिल्ला अदालत रुपन्देही बाट १० दिन म्याद थप भइ अनुसन्धान भैरहेको एसपी रेग्मीले पत्रकार सम्मेलन गरी जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२२-११-०२ , समय : ०९:२८:०१ , २ वर्ष अगाडि