रुपन्देही खबर , ९२० पटक हेरिएको

भैरहवा, जेठ १२
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ ले फोहर व्यवस्थापनका लागि आज एक कार्यक्रमका बिच डस्टबीन वितरण गरेको छ । सिनपा वडा नम्बर ५ मा ब्यवसायिक फर्म दर्ता गरि सञ्चालित २ सय ५० व्यवसायिक प्रतिष्ठान तथा ब्यापारीहरुलाई डस्टबीन वितरण गरिएको हो ।
सिद्धार्थनगरलाई स्वच्छ, सफा र हराभरा बनाउने सिद्धार्थनगर नगरपालिकाको सपनालाई साकार पार्नका लागि वडा कार्यालय मार्फत डस्टबीन वितरण गरिएको सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताउनु भएको छ । ‘वडा नम्बर ५ कार्यालयमा दर्ता भइ सञ्चालनमा रहेका व्यवसायिक प्रतिष्ठानका सञ्चालकहरुलाई डस्टबीन वितरण गरिएको उहाले बताउनु भयो । यसले व्यवसायिक प्रतिष्ठानलाई प्रोत्साहित गर्नेमा विश्वस्त छौं ।’ वडा कार्यालयको मात्र प्रयासले फोहरमैला व्यवस्थापन हुन नसक्ने भएकाले सबैको भूमिका महत्वपूर्ण रहेको उहाको भनाइ छ ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले वडा नम्बर ५ ले रचनात्मक कार्यहरु गरेको प्रशंसा गर्दै सडक नालामा तथा जथाभावी फोहर नफाल्न आग्रह गर्नु भएको छ । ‘फोहर नालामा फाल्दा वर्षाको समयमा पानी जम्दा समस्या भएको छ, ’नगरप्रमुख खानले भन्नु भयो । उहाले सिद्धार्थनगर नगरपालिकालाई सफा, स्वच्छ, हराभरा बनाउन नगरपालिकालाई मात्र जिम्मेवारी दिएर नहुने भएकाले सबैको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।
नगर उपप्रमुख उमा अधिकारीले डस्टबीन संकलन गरिएको फोहर सडकमा नभइ नगरपालिकाको ट्याक्टरमा फाल्न आग्रह गर्नु भएको छ। ‘सरसफाई अभियानमा सबै मिलेर अघि बढौं ।’ सिद्धार्थनगर वडा नम्बर ५ ले सराहनीय कार्य गरेको उहाको भनाइ छ ।
समाजसेवी तथा भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष ओमकार गौचनले वडा नम्बर ५ वडा कार्यालयले गरेको कार्यबाट वडाबासीले गर्वको अनुभुति गरिरहेको बताउनु भएको छ । उहाले डस्टबीन वितरण महत्वपूर्ण कार्य भएको बताउनु भएको छ । सिद्धार्थनगर–५ का वडा सदस्य प्रेम नारायण गुप्ताले कार्यक्रममा बोल्दै डस्टबीन वितरण कार्यक्रमले नगर तथा वडालाई सफा र हराभरा राख्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालको विशिष्ट आतिथ्यता, वडा सदस्य प्रेम नारायण गुप्ताको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२३-०५-२६ , समय : २१:४३:४७ , २ वर्ष अगाडि