उर्मिला यादव यात्री , १०५ पटक हेरिएको

भैरहवा, बैशाख २९
मानव बेचबिखन न्यूनीकरणका लागि यातायात ब्यवसायीहरु बिच समन्वयात्मक भूमिका हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । शान्ति पुर्नस्थापना गृह शाखा कार्यालय बेलहिया रुपन्दहीले आइतबार बुटवलमा यातायात ब्यवसायीहरुसंग गरेको मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको अन्तक्रिया तथा छलफल कार्यक्रममा सहभागी वक्ताहरूले सभ्य समाजका लागि चुनौती बन्दै गएको मानव बेचबिखन लगायतका घटना न्यूनीकरणका लागि सहकार्य नै विशेष उपाय हुन सक्ने सुझाव दिएका छन । नेपालको सिमानाकाबाट भारत लगायत तेस्रो मुलुकमा जाने मानिसहरु बेचबिखनको उच्च जोखिममा हुने भएकोले बुटवलका यातायात ब्यवसायीहरुले कडाइका साथ चेकजाच गर्ने प्रतिबद्धता जनाएका छन । उनीहरुले नेपाल भारत मैत्री यातायातबाट भारत जाने यात्रुहरुको बास्तबिक पहिचान गरी मात्र जान दिने बताउदै शंका लागेमा गृहसंग समन्वय गर्ने प्रतिबद्धता गरेका हुन । उनीहरुले नेपाल भारत मैत्री बसहरुमा पटक पटक चेकजाच हुदा कतिपय यात्रूहरुले चेकिंगको नाममा सास्ती भोग्नु परेको गुनासो समेत गरेका छन । एकपटक चेक गरिसकेको मानिसलाई पुन चेक नगर्नुपर्ने यातायात ब्यवसायीहरुले माग समेत गरेका छन ।
यस्तै गरी कार्यक्रममा शान्ति पुर्नस्थापना गृह शाखा कार्यालय बेलहिया रुपन्देहीका कार्यक्रम सुपर भाइजर नितेश कुमार चौधरीले गृहले आ.ब. २०८१ ,८२ बैशाख २७ गते सम्ममा रुपन्देहीबाट २ सय जना भन्दा बढी महिला तथा बालबालिकाको उद्धार गरेकोे बताउनु भएको छ । उहाले सिमानाकामा ६ हजार भन्दा बढीलाई परामर्श सेवा प्रदान गरिएको बताउदै आ.ब.२०८१ ,८२ मा बुटवलबाट भारतको डिल्ली पन्जाब, चण्डीगढ जाने बसहरुबाट ८० जनाको उद्धार गरिएको जानकारी दिनु भएको छ । भने १ हजार ७ सय जनालाई परार्मश प्रदान गरिएको उल्लेख गर्नु भयो । चौधरीले यस आ.ब. मा १ जनालाई भारत बाट समेत उद्धार गरिएको बताउदै तीन जनालाई इलाका प्रहरी कार्यालय बुटवलबाट जबरजस्ती करणीको मुद्धा समेत दर्ता गरेको बताउनु भएको छ । उहाले नेपालको यातायात प्रयोग गरी भारत जाने शंकास्पद ब्यक्तिहरुलाई मानव बेचबिखनको जोखिमबाट बचाउन यातायात ब्यवसायीहरुको पनि उत्तिकै महत्वपुर्ण भुमिका भएकोले सहकार्य गरी काम गर्न समेत आग्रह गर्नु भएको छ ।
यस्तै गरी प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रदिप कुमार श्रेष्ठले गरिबी, अशिक्षा, बढदो चाहना ,उच्च अभिलासाका कारण पनि मानव बेचबिखनका घटनाहरु बढदै गएको बताउनु भएको छ । उहाले नेपाल हुदै भारत जाने मानिसहरु बढी मात्रामा बेचबिखनको उच्च जोखिममा रहेकोले नाका नाकामा चेक जाच गर्नूपर्ने बताउनु भयो । उहाले भारत सम्म लैजाने यातायात ब्यवसायीहरुले पनि यात्रुसंग पर्याप्त मात्रामा प्रमाणहरु भए नभएको चेकजाच गर्ने पुर्ण अधिकार भएकोले नडराई चेकजाच गर्नुपर्ने जोड दिनु भयो । वडाध्यक्ष श्रेष्ठले मानव बेचबिखन रोक्न स्थानिय तह, प्रहरी, बिभिन्न सरोकारवाला निकाय पनि सक्रिय रुपमा लागे मात्र केही हद सम्म मानव बेचबिखनका घटनाहरुमा कमी ल्याउन सकिने बताउनु भयो। उहाले कतिपय मानिसहरु सुनौली नाकाबाट नभइ अन्य बाटो भएर जाने भएकोले नौतनवाको मुख्य बाटोमा समेत प्रहरी संग समन्वय गरी चेकजाचको ब्यवस्था हुनुपर्ने बताउनु भयो ।
यस्तै गरी शान्ति पुर्नस्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भुमिराज भटटराइले कार्यक्रममा बोल्दै यातायात ब्यवसायी संघले मानव बेचबिखनको बिरुद्धमा रहेर शान्ति पुर्नस्थापना गृहसंग सहकार्य गरी काम गर्दै आएको बताउनु भएको छ । उहाले नेपाल भारत मैत्री यातायातबाट भारत जाने यात्रुहरुको बास्तबिक पहिचान गरी मात्र जान दिने बताउदै शंका लागेमा गृहसंग समन्वय गर्न आग्रह गर्नु भएको छ । उहाले पछिल्लो समय मानव बेचबिखनको स्वरुप नै परिर्वतन भएकोले चेकजाचमा चनाखो हुनुपर्ने उल्लेख गर्नु भयो । उहाले कतिपय महिला तथा बालबालिका आफन्तबाट नै भारतमा गएर बेचबिखनमा परेकोले मानव बेचबिखन न्युनीकरण गर्न यातायात ब्यवसायीहरुको पनि उत्तिकै भुमिका भएकोले आगामी दिनमा पनि यस्तै सहकार्यका अपेक्षासहित यातायात ब्यवसायीहरुसंग छलफल गरिएको बताउनु भएको छ ।
शान्ति पुर्नस्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भुमिराज भटटराइको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष प्रदिप कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आइतबार बुटवलमा यातायात ब्यवसायीहरुसंग मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । गृहको परार्मशदाता सलिना खनालको स्वागत मन्तब्य रहेको कार्यक्रममा इलाका प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र बुटवलको प्रमुख प्रतिक्षा कवरले मानव बेचबिखनको अवस्था कानुनी सजाय दण्डजरिवाना लगायतको बिषयमा जानकारी गराउनु भएको थियाृ भने कार्यक्रम संचालन गृहको रुपन्देही जिल्ला सुपरभाइजर सम्झना चदराले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२५-०५-१२ , समय : २१:२८:४६ , ७ घन्टा अगाडि